गुठीपिडित किसान माथि प्रहरी दमन
Esewanews
|
सोमबार, १९ फागुन २०८१
नेपाल–मोही किसान माथि प्रहरीको वलप्रयोग भएको छ । स्वर्गद्वारी गुठीअन्तर्गत जग्गा जोतिरहेका किसानले २०४५ सालदेखि नै जिल्लाकेन्द्रित आन्दोलन गर्दै आएका थिए । लामो समय देखि आन्दोलन गरीराखेका मोही किसानहरु सरकारलाई थप दबाब सिर्जना गर्न काठमाडौ केन्द्रित आन्दोलनमा जुटेका हुन । २०८० फागुन ७ देखि एक महिनासम्म आन्दोलन गरेपछि सरकारले उनीहरूसँग सम्झौता गरेको थियो । सम्झौता कार्यान्वयन नभएको भन्दै गुठीपीडितले गत माघ २० देखि काठमाडौंको माइतीघरमा प्रदर्शन गर्दै आएका छन् । काठमाडौँ मोही किसानले लालपुर्जा पाउनुपर्ने माग सांसदहरूलाई सुनाउन संसद् भवन नयाँ बानेश्वरतिर पैदल यात्रा गर्ने क्रममा प्रहरी सँग झडप भएको हो । काठमाडौं, माइतीघरमा धर्ना बसेको एक महिना हुन लाग्दा पनि माग सुनुवाइ नभएको भन्दै किसान आइतबार मौलिक भेषभूषामा कृषि औजार बोकेर संसद् भवनतर्फ अगाडी वढेका थिए । आन्दोलनमा अगाडी वढन खोजेका किसान माथि बबरमहलमा प्रहरीले रोकेपछि झडप भएको थियो । शान्तिपूर्ण रूपमा पदयात्रा गरिरहेका किसानमाथि प्रहरीले निर्घात कुटपिट गरेको स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समितिले जनाएको छ । समितिका अनुसार प्रहरीको लाठीचार्जबाट २९ किसान घाइते भएका छन् । घाइते केहीलाई उपचारका लागि वीर अस्पताल लगिएको समितिले बताएको छ । बबरमहलको झडपका क्रममा प्रहरीले शेरबहादुर चौधरी, प्रवीण दहित चौधरी, लालबहादुर चौधरी, बालकृष्ण चौधरी, भरतलाल चौधरी, रमेश चौधरी, धनीराम चौधरी, विमली चौधरी, सुनिता चौधरी, रामकुमारी चौधरी, पिमा चौधरी र विन्दु कुमाललाई नियन्त्रणमा लिएको समितिले जनाएको छ । आन्दोलनमा सहभागी विमला चौधरीको खुट्टा प्रहरीको कुटाइले सुन्निएको छ । विमला माइतीघरमा धर्ना बसिरहेका किसान साथीहरूलाई साथ दिन आइतबार बिहान मात्रै दाङ, तुलसीपुर–१० बाट काठमाडौं आइपुगेकी हुन् । गुठीपीडित उनका श्रीमान् मजदुरी गर्न दुबई पुगेका छन् । ‘घरमा छोराछोरी छोडेर काठमाडौं आएकै दिन प्रहरीले वलप्रयोगमा उनि घाइते भएकी हुन् । संघर्ष समितिका अनुसार प्रहरीले किसानका कृषि औजार पनि नियन्त्रणमा लिएको छ । दाङका १२ मौजा (गाउँ) मा ३ हजार ५ परिवारका करिब १६ हजार किसान स्वर्गद्वारी गुठीका मोही छन् । तिनले गुठीअन्तर्गतको १ हजार ५० बिघा जमिन जोतिरहेका छन् । जग्गाको स्वामित्व स्वर्गद्वारी गुठीका नाममा छ । जोतभोग गरेको जग्गाको स्वामित्व आफ्नै हुनुपर्छ भनेर किसान वर्षौंदेखि आन्दोलनमा छन् । किसानसँग मोहियानी पुर्जा भए पनि २०६२ चैत १४ को सर्वोच्च अदालतको संयुक्त इजलासले खारेज हुने परमादेश जारी गर्यो । सर्वोच्च अदालतले ‘स्वर्गद्वारी गुठी विशेष प्रकृतिको निजी गुठी भएका कारण आश्रमको जग्गा खण्डीकरण गर्न नमिल्ने’ परमादेश दिएको थियो । त्यसपछि किसान मोही पुर्जाको प्रमाण बोकेर आन्दोलन गरिरहेका छन् । किसानले जोतभोग गर्दै आएको जमिन मोहीका नाममा रैतानी हुने कानुनी व्यवस्था गर्नुपर्ने, विशेष प्रकृतिको निजी भनिएको गुठी जग्गाका निष्कासित मोहीको हक पुनःस्थापित हुनुपर्ने र किसानले बुझाउनुपर्ने रैतानीबापतको तिरो वडामार्फत बुझाउने व्यवस्था गर्नुपर्ने लगायतका माग उनीहरूको छ । आन्दोलनरत किसानहरु आफूले खाने चामल–दाल बोकेर दाङदेखि आएका उनीहरू माग पूरा नभएसम्म नफर्किने अडानमा छन् ।