Esewanews

शक्तिशाली चक्रवातले बाङ्ग्लादेशमा लाखौँ मानिस प्रभावित ।

Author Esewanews सोमबार, ०१ जेठ २०८०

views
शक्तिशाली चक्रवातले बाङ्ग्लादेशमा लाखौँ मानिस प्रभावित ।

नेपालप्रतिघण्टा दुई सय किलोमिटर भन्दा बढी वेगको आँधीसहितको एउटा शक्तिशाली चक्रवात मोका आइतवार दिउसोबाट बाङ्ग्लादेश र उत्तरी म्यान्मारको तटीय क्षेत्रभित्र प्रवेश गरेको छ। भारी वर्षा र प्रतिघण्टा १९५ किलोमिटर सम्मको आँधी निम्त्याएको उक्त चक्रवातले बङ्गालको खाडी आसपासका जमिनमा खतरनाक बाढी निम्तने ठानिएको छ। आइतवार साँझबाट चक्रवातको प्रभाव कम हुँदै जाने भएतापनि निरन्तरको वर्षा थप दुईदेखि तिन दिनसम्म चल्न सक्ने बाङ्लादेशको जलवायु निकायलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। चार मिटरसम्मका अग्ला आँधी समुद्र सतहभन्दा कम उचाइमा रहेका गाउँहरूलाई डुबाउन सक्ने चिन्ता भइरहेका छन्। बाङ्ग्लादेशको कोक्स बजारमा कम्तीमा दुई लाख मानिसहरू सुरक्षित स्थानमा आश्रय लिन बाध्य भएका छन्। जहाँ झण्डै १० हजार घरहरू ध्वस्त भएको प्रारम्भिक विवरण आएका छन्। कोक्स बजार नजिकैको सेन्ट मार्टिन टापुमा १,२०० घरहरू ध्वस्त भएको अधिकारीहरूले बीबीसी बाङ्लालाई बताएका छन्। मौसम अधिकारीहरूले भीषण वर्षाले पहिरो निम्त्याउने चेतावनी दिएका छन्। कोक्स बजारमा रहेको झण्डै १० लाख रोहिन्ज्याहरू बस्ने विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविरमा शरणार्थीहरूको सुरक्षालाई लिएर चिन्ताहरू व्यक्त भएका छन्। म्यान्मारको सित्वे शहरमा दिउसो एक बजेबाट आँधीको प्रभाव देखिन थालेपछि विद्युत् तथा इन्टरनेट अवरुद्ध हुन पुगेको थियो। त्यहाँ रूखहरू ढल्नुका साथै एउटा टेलिफोन टावर क्षतिग्रस्त भएको छ।सित्वे समेत पर्ने म्यान्मारको रखाइन राज्य सबैभन्दा चक्रवातबाट सबैभन्दा धेरै प्रभावित बनेको बताइएको छ।

© 2026 esewanews.com.np All rights reserved.