पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान गिरफ्तार ।
Esewanews
|
बुधबार, २७ वैशाख २०८०
नेपाल–पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई इस्लामाबादस्थित अदालत परिसरबाट अर्धसैनिक बलका अधिकारीहरूले गिरफ्तार गरेका छन्। भ्रष्टाचारसम्बन्धी आरोप लगाइएको मुद्दाबारे उनी अदालतमा उपस्थित हुन लागेका थिए। आफूमाथि लगाइएका सबै आरोप राजनीतिक रूपले अभिप्रेरित भएको भन्दै पूर्वप्रधानमन्त्री खानले तिनलाई अस्वीकार गर्दै आएका छन्।अदातल परिसर प्रवेश गरेपछि सुरक्षाकर्मीले खानलाई बख्तरबन्द गाडीमा राखेर लगेका थिए। गत वर्ष उनी सत्ताच्युत भएका थिए। सत्ताबाट बाहिरिएयता इमरान खानविरुद्ध दर्जनौँ मुद्दा चलाइएका छन्। त्यसयता उनले समयअगावै निर्वाचन गरिनुपर्ने भन्दै अभियान चलाउँदै आएका छन्। गत नोभेम्बर महिनामा एउटा र्यालीको क्रममा इमरान खानमाथि गोली प्रहार गरिएको थियो। घटनामा उनी बाँच्न सफल भएका थिए। पाकिस्तानमा यसै वर्षको अन्त्यतिर आमनिर्वाचन हुने तय भएको छ। अदालतले खानलाई पक्राउ गर्न आदेश दिएपछि सुरक्षा फौजले उनलाई गिरफ्तार गर्न खोजिरहेको थियो। खानका समर्थक र सुरक्षा फौजबीच उनको निवासनजिकै झडपहरू पनि भएका थिए। पदमा रहँदा राज्यका उपहारहरू बेचेको आरोप खानमाथि छ। तर उनले त्यस्तो आरोप र मुद्दा राजनीतिक मनसायले प्रेरित रहेको दाबी गर्दै आएका छन्।