उपचार खर्च तिर्न नसक्दा अस्पतालमै बन्धक मदन ।
Esewanews
|
मङ्गलबार, १९ वैशाख २०८०
काठमाडौं–इलाम नगरपालिका मदनकुमार राई अस्पतालमा तिर्नुपर्ने रकम तिर्न नसक्दा डिस्चार्ज दिएको चार दिन बितिसक्दा पनि घर फर्किन सकेका छैनन्। २०७७ सालको साउनमा मदनकुमारलाई लिंगको क्यान्सर पुष्टि भयो, त्यो पनि चौथो चरणमा पुगेपछि । विर्तामोडको पूर्वाञ्चल क्यान्सर अस्पतालमा उनको उपचार सुरु भयो । क्यान्सर अन्तिम अवस्थामा पुगिसकेकाले उपचार लम्बिने भयो । मदनको उपचार किमोथेरापीबाट सुरु भयो । १२ वटा किमोथेरापी पछि २०७८ फागुन २३ गते उनको सफल शल्यक्रिया भयो । शल्यक्रियापछि पनि दुईवटा किमोथेरापी भयो । सफल शल्यक्रिया र १४ पटक किमोथेरापी र ४० पटकभन्दा धेरै पटक रेडिएसन थेरापी गरेपछि मदनलाई क्यान्सर निको भयो ।
सामान्य परिवारका मदन इलाममा सानो होटल चलाएर जीविकोपार्जन गरिरहेका थिए । उपचारका लागि आफूसँग भएका जग्गा-जमिन बेचे तर पुगेन । ऋणपान गरेर पनि नपुगेपछि बाध्य भएर सहयोग पनि उठाए । सबैको सहयोगमा मदनको सफल उपचार भयो । क्यान्सरको सफल शल्यक्रिया भएको एक वर्ष नबित्दै मदनलाई फेरि क्यान्सर बल्झियो । क्यान्सर बल्झिएपछि फेरि शल्यक्रिया गर्नुपर्ने भयो । गत चैत २३ गते फेरि दोस्रो पटक मदनको सफल शल्यक्रिया भयो । दुई पटकको शल्यक्रिया, किमोथेरापी र रेडिएसन थेरापी गरेर दुई वर्षमा करिब ५६ लाख रुपैयाँ खर्च भयो । उनलाइ पूर्वाञ्चल क्यान्सर अस्पतालले वैशाख १५ गते नै डिस्चार्ज दिइसकेको छ । तर अस्पतालबाट बाहिर निस्किन सकेका छैनन् । ‘अस्पतालमा तिर्नुपर्ने ८५ हजार तिर्न बाँकी भएकाले अस्पतालबाट निस्किएर जान पाएका छैनन्। अस्पतालको बिल बढेको बढ्यै छ तर तिर्नुपर्ने रकम जुटाउन नसक्दा उनीहरू घर फर्किन सकेका छैनन् । शल्यक्रिया त भयो अझै तीनवटा किमो गर्न बाँकी छ । अझै कति खर्च लाग्ने हो भन्ने चिन्ताले उनको परीवारलाइ सताएको छ । संबिधानत स्वास्थ्य निसुल्क उल्लेख गरेपनि आम गरीव जनता उक्त अधिकार बाट बञ्चित छन् जसले गर्दा गरीव जनताहरु उपचार खर्च तिर्न नसकेर हस्पिटलमा बन्धक बन्नु परेको छ ।