सुदूरपश्चिम प्रदेश औलोको सबैभन्दा जोखिममा ।
Esewanews
|
बुधबार, १३ वैशाख २०८०
काठमाडौँ — नेपालमा पछिल्लो समय औलोको आयातित केसहरु बढिदेखिएको देखिएको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका(ईडिसिडी) का अनुसार सबैभन्दा धेरै आयातित केसहरुको स्रोत भारत हो । विशेषगरी यसको असर सुदूरपश्चिम प्रदेशमा बढी परेको देखिएको छ । महाराष्ट्र, गुजरात, उत्तर प्रदेश, दिल्ली , बिहार, राजस्थान, पञ्जाब आदि राष्ट्रबाट औलोको केस आएका देखिन्छन् । ८७ प्रतिशत भारतबाट र बाँकी १३ प्रतिशत अफ्रिकन मुलुकबाट केसहरु भित्रिएका देखिन्छन् । सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा विशेषगरी भारतबाट फर्किनेको संख्या धेरै हुँदा त्यहाँ औलोका बिरामी बढी रहेको विज्ञहरूको भनाइ छ । यससँगै सुदुरपश्चिम प्रदेशका अधिकांश युवाहरू श्रमका लागि भारतका विभिन्न प्रदेश जाने गर्दा उनीहरूलाई औलोको संक्रमण पनि बढी रहने स्वास्थ्य अधिकारीहरू बताउँछन् । ईडिसिडीका अनुसार सन् २०२२ को औलोको सुक्ष्म स्तरीकरणको आधारमा उच्च जोखिम क्षेत्र( ८ जिल्लाका ९ पालिका अन्तर्गतको १४ वटा वडाहरु रहेका छन् । त्यसैगरी मध्यम जोखिम क्षेत्र (१० जिल्लाका २४ पालिका अन्तर्गतका ३९ वटा वडाहरु ) रहेका छन् भने कम जोखिम क्षेत्र (६७ जिल्लाका ४१४ पालिका अन्तर्गतका २ हजार ३१८ वटा वडाहरुमा बसोबास गर्ने एक करोड १ लाख ४० हजार ४५० जनसंख्या यसको जोखिममा रहेका छन् । औलोबाट विशेषगरी गर्भवती महिला तथा ५ वर्षमुनिका बालबालिकाहरु बढी जोखिममा रहने विज्ञहरुको भनाइ छ । सबैभन्दा धेरै जोखिम सुदूरपश्चिम प्रदेश रहेको छ । सुदूरपश्चिम प्रदेशमा १०३, कर्णाली प्रदेहशमा ३०, लुम्बिनी प्रदेशमा १३९, वाग्मती प्रदेशमा २७, मधेश प्रदेशमा ४३ र कोशी प्रदेशमा १२ वटा केसहरु यो वर्ष देखिएको छ । औलो रोग संक्रमित ‘एनोफेलिज’ जातको पोथी लामखुट्टेको टोकाइबाट सर्छ । यसका ४ प्रकार छन् । नेपालमा मुख्यत: औलोका दुई किसिमका परजीविहरु ‘प्लाज्मोडियम फाल्सिपारम’ र 'प्लाज्मोडियम भाइभेक्स’ पाइने गरेका छन् । गत वर्षदेखि शान्ति सेनाबाट फर्किएका सुरक्षाकर्मीहरुमा अर्को प्रकारको ‘प्लाज्मोडियम ओभली’ समेत भेटिएको छ । यीमध्ये ‘प्लाज्मोडियम फाल्सिपारम’ले गराउने औलो रोग बढी जटिल र जोखिमयुक्त हुन्छ । ज्वरो आउनु, मांशसपेशीहरु दुख्नु, जाडो लागेर कम्पन हुनु, वाकवाकी लाग्नु, थकान महसुस हुनु आदि यसका लक्षणहरु हुन् । घरवरिपरि लामखुट्टे बस्ने बासस्थान खोजी खोजी नष्ट गर्ने, लामखुट्टेको टोकाइबाट जोगिने, राति सुत्दा झुलको प्रयोग गर्ने, शंकास्पद लक्षण देखिए चिकित्सकलाई सम्पर्क गर्नुपर्ने विज्ञहरु बताउँछन् ।