Esewanews

एक्वडोरमा शक्तिशाली भूकम्प ।

Author Esewanews सोमबार, ०६ चैत २०७९

views
एक्वडोरमा शक्तिशाली भूकम्प ।

काठमाडौँएक्वडोरको दक्षिण तटीय क्षेत्रमा गएको एउटा भूकम्पका कारण कम्तीमा १३ जनाको ज्यान गएको छ भने कैयौँ शहरका भवनहरूमा क्षति पुगेको छ। भूकम्पको धक्का उत्तरी पेरुमा समेत महसुस गरिएको थियो। त्यहाँ सीमावर्ती प्रान्तमा घर भत्किँदा एकजना किशोरीको निधन भएको जनाइएको छ। एक्वडोरको आधा प्रान्तहरूमा भूकम्पको प्रभाव महसुस गरिएको थियो। यूएस जिओलोजिकल सर्भेले उक्त भूकम्प ६ दशमलव ८ म्याग्निट्यूडको रहेको जनाएको छ। दक्षिणी प्रान्त एल ओरो सबैभन्दा नराम्रोसँग प्रभावित भएको बताइएको छ। आपत्कालीन सेवाले मानिसहरू अझै पनि भत्किएका घरहरूमा फसिरहेको जनाएका छन्। सामाजिक सञ्जालमा राखिएका भिडिओमा स्थानीय बासिन्दाहरूले भग्नावशेषहरू हटाएर खोजी कार्य जारी राखेको देख्न सकिन्छ। स्थानीय समय अनुसार लगभग मध्य दिनमा भूकम्प गएको थियो। भूकम्पको केन्द्रबिन्दु एक्वडोरको दोस्रो ठूलो शहरभन्दा ८० किलोमिटर टाढा बलाओ भन्ने स्थान नजिकै रहेको विवरण आएका छन्। उक्त शहरमा झन्डै ३० लाख मानिसको बसोबास छ। एकजना प्रत्यक्षदर्शीले एएफपी समाचार संस्थासँग भने, “मानिसहरू आत्तिएर दौडिरहेको र आफ्नो कारबाट बाहिर निस्किरहेको देखेपछि म पनि सडकमा निस्किए। एक्वडोरका राष्ट्रपति गियरमो लासोले मानिसहरूलाई शान्त रहन अनुरोध गरेका छन्। उनले प्रभावित क्षेत्रमा आपत्कालीन टोलीहरू खटाइएको पनि जानकारी दिए। उनको कार्यालयले घाइतेहरूको उपचार भइरहेको जानकारी दिएको भएपनि थप विवरण उपलब्ध गराएको छैन। पहिरोले कैयौँ सडक अवरुद्ध भएका छन् भने भूकम्पपछि कैयौँ घर, शिक्षण संस्था र स्वास्थ्य केन्द्रहरूमा पनि क्षति पुगेको छ। सन् २०१६ मा झन्डै ७ सय जनाको ज्यान लिने गरी एक्वडोरमा भूकम्प गएको थियो। त्यसबेला हजारौँ घाइते भएका थिए। पछिल्लो भुइँचालो त्यसयताकै सबैभन्दा शक्तिशाली भूकम्प रहेको जनाइएको छ।

© 2026 esewanews.com.np All rights reserved.