दुई अमेरिकी ब्याङ्क डुबेपछि त्यसको असर बिश्वब्यापी ।
Esewanews
|
बुधबार, ०१ चैत २०७९
काठमाडौँ–अमेरिकामा दुईवटा ठूला ब्याङ्कहरू धराशायी भएपछि अमेरिकी राष्ट्रपति जो बाइडनले अमेरिकाको वित्तीय प्रणाली सुरक्षित रहेको आश्वासन दिने कोसिस गरेका छन्। तर एशिया र युरोपको शेअर बजार त्यसबाट ढुक्क हुन भने सकेको छैन र ब्याङ्कहरूको शेअर मूल्य ह्वात्तै घटेको छ र बिश्वब्यापि फेरी पुँजीवादी आर्थीक संकटको भए र त्रासबारे एकपटक बहस जन्माएको छ । अमेरीकी सिलिकन भ्याली ब्याङ्क (एसभीबी) र सिग्नेचर ब्याङ्क सङ्कटमा परेपछि ग्राहकहरूले जम्मा गरेको निक्षेपको रक्षा गर्न अमेरिकी निकायहरूले प्रयास थालेपछि विश्वबजारमा ब्याङ्कहरूको शेअरको मूल्यमा गिरावट आउन थालेको हो। राष्ट्रपति जो बाइडनले ब्याङ्किङ प्रणालीलाई जोगाउन "यथोचित" कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका भएपनी पुँजीवादी आर्थीक प्रणालीमा उत्पन्न भईहरने घातक आर्थीक संकटको भए एकपटक बिश्वब्यापी बहसको बिषय बनेको छ । लगानीकर्ताहरू अरू कर्जादाता पनि सङ्कटमा पर्ने आशङ्कामा छन्। मङ्गलवार विश्वभरि शेअरको मूल्य घट्यो। जापानको टपिक्स ब्याङ्कको सूचकाङ्क ७% भन्दा बढीले घट्यो। तीन वर्षभन्दा बढी समयमा उक्त सूचकाङ्क सबैभन्दा नराम्रो स्थितिमा पुगेको हो। एशियाली बजारमा मध्यदिनसम्म भएको कारोबारमा धितो लिएर कर्जा प्रवाह गर्ने सबैभन्दा ठूलो जापानी वित्तीय संस्था मित्सुबिशी यूएफजे फाइनान्शल ग्रूपको शेअर पनि ८.१% ले घट्यो। सोमवार कुनै समयमा स्पेनका सान्टान्डेर र जर्मनीको कोम्यार्ट्स्बाङ्कको शेअर मूल्य पनि १०% भन्दा बढीले घटेको थियो।
अमेरिकाका साना ब्याङ्कहरूले सम्भावित प्रभावबाट जोगिनका लागि आफूसँग आवश्यक पर्नेभन्दा बढी तरलता उपलब्ध रहेको कुरामा ढुक्क पार्न खोजेका भए पनि तिनले युरोपेली ब्याङ्कभन्दा बढी क्षति बेहोरेका छन्। यो अस्थिरताले मुद्रास्फीति नियन्त्रण गर्नका लागि ब्याज दर बढाउने अमेरिकाको केन्द्रीय ब्याङ्कको योजनालाई केही समयका लागि रोक्ने अनुमान गर्न थालिएको छ। बाइडनले निक्षेपकर्ताहरूलाई सुरक्षित बनाउनका लागि सरकारले हस्तक्षेप गरेसँगै सिलिकन भ्याली ब्याङ्कका सर्वसाधारण वा व्यावसायिक निक्षेपकर्ताले सोमवारबाट आफूले जम्मा गरेको रकम प्राप्त गर्न सक्ने बताएका छन् तर आफूले जम्मा गरेको रकम निकाल्न नपाएपछि कैयौँ व्यावसायिक ग्राहकहरू आफ्ना कर्मचारी र आपूर्तिकर्तालाई भुक्तानी दिन नसक्ने अवस्थामा पुग्ने सम्भावना देखिएको छ । उत्तर अमेरिकामा कार्यरत बीबीसीका प्रविधि संवाददाता जेम्स क्लेटनले क्यालिफोर्नियाको मेन्ल पार्कस्थित एसभीबी ब्याङ्कबाट आफ्नो पैसा निकाल्नका लागि दिनभरि लाम लागेका सर्वसाधारणहरूसँग कुराकानी गरेका थिए। ब्याङ्कले विद्युतीय कारोबारको सुविधा दिन नसकेपछि उनीहरू चेक साट्न त्यहाँ पुगेका थिए।
अमेरिकी नियामक निकायले शुक्रवार मूलभूत रूपमा प्रविधि कम्पनीहरूलाई कर्जा प्रवाह गर्ने सिलिकन भ्याली ब्याङ्कको सम्पत्ति जफत गर्दै उक्त ब्याङ्क बन्द गरिदिएको थियो। सन् २००८को वित्तीय सङ्कट पश्चात् अमेरिकी ब्याङ्कको यो सबैभन्दा ठूलो असफलता हो। उक्त ब्याङ्कले उच्च ब्याज दरबाट प्रभावित सम्पत्ति बिक्रीबाट भएको घाटा हटाउन पैसा उठाउने प्रयास गरिरहेको थियो। उक्त सङ्कटबारे सूचना फैलिएपछि ग्राहकहरू आफूले जम्मा गरेको रकम निकाल्न आउन थालेपछि रकमको अभाव देखिएको थियो। आइतवार सरकारी निकायहरूले न्यूयोर्कस्थित सिग्नेचर ब्याङ्कको व्यवस्थापन पनि आफ्नो नियन्त्रणमा लिएका थिए। उक्त ब्याङ्कका कैयौँ ग्राहक क्रिप्टो कारोबारमा संलग्न थिए र त्यो वित्तीय संस्था एसभीबीजस्तै जोखिममा परेको मानिएको थियो।