मिटरब्याजी साहुको बदमासि ४० हजार ऋणमा ५० लाखको घडेरी बेचेर बेपत्ता ।
Esewanews
|
शुक्रबार, १२ फागुन २०७९
काठमाडौँ–सर्लाहीको चक्रकट्ट नगरपालिका स्थित साबिक खोरिया गाविस – ५ बस्ने हबिब साह फकिरले ४० हजार ऋणमा बन्दकी राखेको घडेरी साहुले बेचिदिएपछि परिवारको उठीबास लागेको छ। साह फकिरले बन्दकी राखेको घडेरी साहुले जानकारीविना बिक्री गरेर बेपत्ता भएपछि उनको परिवार बिचल्लीमा परेको हो।
हबिबले ०५६ साल फागुन ६ गते जिल्लाको साबिक सुन्दरपुर गाविस– ४, हाल चक्रकट्टनिवासी जाकिर हुसैनसँग ४० हजार ऋण लिएका थिए। चलअचल सम्पत्तिको नाममा रहेको एउटा मात्र मलंगवा– ३, मा रहेको १२९६ कित्ता नम्बरको १० धुर घडेरी उनले बन्दकीस्वरूप साहु जाकिरको नाममा सोही दिन रजिस्टर गरिदिएका थिए। साहु हुसैनले ०५९ माघ १९ गते हबिबको घडेरी अरूलाई ५० लाखमा बिक्री गरिदिए।
ऋण लिएबापत हबिबले प्रतिमहिनाको ३६ प्रतिशतले ब्याज तिर्नुपर्ने सर्त कागजमा उल्लेख गरिएको थियो। उक्त ऋण हबिबले घरपरिवार चलाउँदा र बालबच्चाको औषधोपचारमा लागेको ऋण तिर्न लिएका थिए।
आर्थिक रूपमा अति विपन्न हबिबले दैनिक ज्याला मजदुरी गरेर पाँचजना सदस्यको परिवार पाल्दै आएका छन्। हबिबको कमाइले उनीहरूको दैनिक छाक मुस्किलले टर्छ ०५९ असोज ६ गते साहु जाकिरकोमा पुगेर ‘ऋण तिर्नुपर्यो हिसाब गरिदिनू’ भने । जाकिरले हबिबको लालपुर्जाको पछिल्लो पन्नामा ०५९ साल असोज ६ गतेसम्मको ३६ प्रतिशतको ब्याजदरले हुन आउने ८८ हजार पाँच सय ७६ रुपैयाँ ८७ पैसा तिर्नुपर्ने देखाए। लेखपढ गर्न नजानेका हबिबले छिट्टै तिर्ने बताउँदै आफ्नो घडेरीको रजिस्ट्री फिर्ता गर्न आग्रह गरे। उक्त दिन हबिब र जाकिर दुवैजना मालपोत कार्यालय मलंगवा परिसरमा पुगेका थिए । ‘रजिस्ट्री फिर्ताको कागज लेखाउँदै गर्नु म एकैछिनमा आउँछु’ भन्दै जाकिर त्यहाँबाट हिँडे । जाकिर आउँछन् र काम गराउँला भन्दै बसेका हबिब पर्खेको पर्खै भए। जाकिर आएन्न। हबिब रित्तो हात घर फर्के। जाकिरको व्यवहारले उनको मनमा चिसो पस्यो।
हबिब जाकिरलाई झिकाइदिन र आफ्नो घडेरी फिर्ता गरिदिन भन्दै प्रहरी चौकी, जिल्ला प्रहरी कार्यालय सर्लाही र जिल्ला प्रशासन कार्यालय सर्लाही धाउन थाले। उल्टै हबिब प्रहरी प्रशासन धाउन थालेको थाहा पाएका जाकिरले ०७९ माघ १९ गते कैमरुदिन चुरिहारको नाममा उक्त १० धुर घडेरी बिक्री गरिदिए आफूले साहुलाई ‘ऋणबापतको साँवा–ब्याज फिर्ता गर्छु, घडेरी फिर्ता गरिदेऊ भन्दा उल्टै बिक्री गरेर बेपत्ता भएको उनको गुनासो गरे। बुधबार जिल्ला मालपोत कार्यलयमा नयाँ पत्रिकासगँ भेट गर्न आइपुगेका उनले अब आफू सपरिवार मर्नुको विकल्प नरहेको दुखेसो पोखे। न्याय माग्न जिल्ला प्रशासन र प्रहरी कार्यालय धाइरहेका उनले कतैबाट सहयोग नपाएको बताए। आँखाभरि आँसु पार्दै कतैबाट न्याय नपाए सपरिवार नै आत्महत्या गर्ने भन्दै उनी पटक–पटक भक्कानिए। पछिल्लो समय घडेरी खरिद गरेका कैमरुदिनले अहिले धमाधम घर बनाउन थालेपछि हबिब थप चिन्तामा परेका छन्। कैमरुदिनले घडेरी जाकिरसँग ५० लाखमा किनेको बताउने गरेका छन्। यसरी ठगी गरेपछि हबिब लालाबालासहित नजिकैको भाडाको घरमा शरण लिएका छन्। नयाँ पत्रिका।