Esewanews

कतारमा हजारौं कामदारको मृत्यु ।

Author Esewanews आइतबार, ०३ पुस २०७९

views
कतारमा हजारौं कामदारको मृत्यु ।

नोभेम्बर २० (मंसिर ४) मा अल आयत रंगशालामा विश्वकप फुटबलको भव्य उद्घाटन भयो। कतारले विश्वकप आयोजनाको जिम्मेवारी लिएर त्यसका लागि आबश्यक भौतिक पुर्वाधार बनाउदा साढे ६ हजारभन्दा बढी मजदुरले ज्यान गुमाएको र तीमध्ये अधिकांश दक्षिण एसियाली राष्ट्रका कामदार रहेको समाचार प्रकाशित भएको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार भारत, पाकिस्तान, बंगलादेश, नेपाल र श्रीलंकाका ६ हजार ७ सय ५१ मजदुरले ज्यान गुमाएका थिए। 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमको तथ्यांकअनुसार सन् २०१० डिसेम्बरदेखि हरेक साता औसतमा १२ आप्रवासी कामदारले ज्यान गुमाएका थिए। जसमा सन् २०११ देखि २०२० को अवधिमा दक्षिण एसियाका भारत, बंगलादेश, नेपाल र श्रीलंकाका ५ हजार ९ सय २७ श्रमिकले ज्यान गुमाएका थिए। कतारस्थित पाकिस्तानी दूतावासका अनुसार यो अवधिमा पाकिस्तानका ८ सय २४ जना मजदुरको ज्यान गएको थियो। जसमा सबैभन्दा बढी भारतका २ हजार ७ सय ११ छन्। यस्तै नेपालका १ हजार ६ सय ४१, बंगलादेशका १ हजार १८, पाकिस्तानका ८ सय २४ र श्रीलंकाका ५ सय ५७ जना रहेको तथ्यांकमा उल्लेख छ। 

अधिकांश श्रमिकको मृत्युमा कतारले प्राकृतिक कारणभन्दै पन्छिने गरे पनि अधिकांश श्रमिकको मृत्यु अग्लो भवनबाट लड्दा, झुन्डिँदा र चर्को गर्मीमा गैरकानुनी रूपमा लामो समयसम्म काम गराउँदा भएको मानवअधिकारवादी संस्थाहरूले दाबी गरेका छन्। अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघले दी केस एगेन्स्ट कतारनामक प्रतिवेदन नै तयार पारेको थियो। प्रतिवेदनमा कतारमा विदेशी कामदारको स्थिति निकै दयनीय रहेको र विदेशी कामदारलाई खप्नै नसक्ने प्रचण्ड गर्मीमा काम गर्न लगाइएको उल्लेख गरिएको थियो। यस्तै कामदारको बस्ने र खाने व्यवस्था पनि नाजुक रहेको औंल्याइएको थियो। 

© 2026 esewanews.com.np All rights reserved.