Esewanews

मरुभूमिस्थित कतारले पानी कसरी जोहो गर्छ ?

Author Esewanews शनिबार, ०२ पुस २०७९

views
मरुभूमिस्थित कतारले पानी कसरी जोहो गर्छ ?

कतारमा प्रचण्ड गर्मी हुन्छ। गर्मीले फुटबल खेलिने घाँस नबग्रियोस् भनेर मैदानमा दैनिक १०,००० लिटर पानी हाल्ने गरिएको छ। अन्य रङ्गशालाका मैदानमा पनि दर्जनौँ खेल र प्रशिक्षणका लागि त्यति नै मात्रामा दैनिक पानी छर्किने गरेको थियो। पानीको व्यापक अभाव रहेको कतारमा त्यति ठूलो मात्रामा पानी हाल्नुपर्ने अवस्थाले उसले विश्वकप आयोजना गर्न कति चुनौती खेप्नुपरेको छ भन्ने सङ्केत गर्छ। विश्वकपका लागि तयार पारिएका कतारका आठवटा रङ्गशालामा खेलमैदान व्यवस्थापनमा खटिएका कर्मचारीका लागि अवस्था थप चुनौतीपूर्ण बन्न सक्थ्यो। सुरुको योजनानुरूप नै १३६ वटा प्रशिक्षण गर्ने मैदानका साथै प्रतियोगिता गर्मीयाममा भएको भए प्रत्येक मैदानमा दैनिक ५०,००० लिटर पानी आवश्यक पर्ने थियो। कर्मचारीहरूले अन्य देशको अवस्थासँग तुलना गर्दा कतारमा प्रख्यात प्रतियोगिताका लागि मैदान तयार पार्नुलाई "एउटा बेग्लै तहको चुनौती"का रूपमा व्याख्या गरेका छन्। आगामी आइतवार राति हुने विश्वकपको फाइनलमा आर्जेन्टिना र फ्रान्सबीच खेल सुरु हुँदासम्मको हिसाब निकाल्दा लुसैल रङ्गशालाको मैदानमा मात्रै प्रतियोगिता सुरु भएयता आयोजक कतारले लगभग ३०० टन पानी हालिसकेको हुनेछ।

 

 

कतारमा आपत्कालीन अवस्थामा प्रयोग गर्नका लागि तयार पारिएको ४,२५,००० वर्ग मिटर घाँसमा (४० वटा मैदान बराबर) 'रिसाइकल' गरिएको पानी प्रयोग गरिएको छ। प्रशिक्षण अनि खेलमा प्रयोग भएका मैदानमा भने समुद्रको पानीबाट नुन हटाएर प्रशोधन गरिन्छ। प्राकृतिक स्रोतबाट उपलब्ध पानीमा मात्रै निर्भर रहने हो भने कतारमा १४,००० मानिस मात्रै बस्न सक्थे,'' कतार विश्वविद्यालयमा मरीन साइन्सेस विषयका सहप्राध्यापक रादूअन बेन-हामादूले भने। त्यति पानीले विश्वकपका लागि तयार पारिएका रङ्गशालाको एकचौथाइ भागमा समेत पानी हाल्न पुग्ने थिएन। कतारमा नदी छैन र त्यहाँ वार्षिक १० सेन्टिमिटरभन्दा कम वर्षा हुन्छ। मरुभूमिस्थित यो राष्ट्रमा करिब २९ लाख मानिस बसोबास गर्छन् र कतारको जलस्रोतले प्राकृतिक रूपमा धान्न सक्ने र वास्तविक जनसङ्ख्याबीचको भिन्नताको अर्थ थप पानी कतैबाट जोहो गर्नुपर्छ भन्ने हो।

 

''पानीको ठूलो परिमाण समुद्रको पानी प्रशोधन गरी त्यसबाट नुन हटाएर तयार पारिन्छ। घरायसी प्रयोजनका लागि झन्डै शतप्रतिशत त्यसरी जोहो गरिएको पानी प्रयोग हुन्छ,'' यूके सेन्टर फर एन्भाइरन्मन्ट, फिसरीज एन्ड एक्वाकल्चर साइन्समा मिडलइस्ट प्रोग्राम निर्देशक डा. विल ले क्वेस्ने भन्छन्। कतारले यसरी ठूलो परिमाणमा पानी उत्पादन गर्छ। यो अवस्था बढ्दै जाँदा, देश विकिसित हुँदै जाँदा अनि विश्वकप जस्ता ठूला खेलकुद कार्यक्रमहरू आयोजना गर्ने योजना बनाउँदै गर्दाअझ बढी उत्पादन गर्नुपर्नेछ। झन्डै १० लाख पर्यटक विश्वकप हेर्न कतार पुग्ने आकलन गरिएको हुँदा प्रतियोगताका बेला पानीको खपत १० प्रतिशतले बढ्ने अनुमान गरिएको थियो। सन् २०५० सम्ममा समुद्रको पानी प्रशोधन गर्ने कतारको क्षमता चार गुनाले बढेर ८० अर्ब लिटर प्रतिदिन पुग्न सक्ने अनुमान गरिएको छ। कतारसँग समुद्रको पानी जति पनि उपलब्ध छ र प्राकृतिक ग्यासको भण्डार रहेकाले यसका लागि खर्च गर्न ऊ आर्थिक रूपमा सक्षम पनि छ। तर यसरी पानी तयार पार्नका लागि निकै धेरै ऊर्जाको आवश्यकता पर्छ। खाडी क्षेत्रमा समुद्रको पानी प्रशोधन गर्नका लागि आवश्यक पर्ने ९९.९ प्रतिशत ऊर्जाका लागि सस्तो पर्ने 'हाइड्रोकार्बन' इन्धन प्रयोग गरिन्छ,'' डा. ले क्वेस्ने भन्छन्। तेल र ग्यासजस्ता 'हाइड्रोकार्बन' ले गर्ने प्रदूषणका निकै हानिकारक हुन्छ। तर सन् २०३० सम्ममा कतारले हरितगृहग्यास उत्सर्जन २५ प्रतिशतले घटाउने लक्ष्य लिएको छ।

 

डिस्यालिनेशन (नुन हटार समुद्रको पानी प्रशोधन गर्ने प्रक्रिया)का लागि उनीहरूले सौर्य ऊर्जा प्रयोग गर्ने सोच बनाइरहेका छन्। त्यसका लागि सोलर प्यानल प्रयोग गरी विद्युत् उत्पादन गरेर 'रिभर्स ओस्मसिस' प्रक्रिया अपनाउन सकिन्छ वा सौर्य ऊर्जाको ताप प्रयोग गरेर पानीको बाफ आउनेगरी प्रशोधन गर्न सकिन्छ। रिभर्स ओस्मसिस' प्रक्रियामा समुद्री पानीलाई पाइपबाट कुनै झिल्ली पठाएर पानीमा भएका अशुद्ध तत्त्वहरू निकालिन्छ। कतारले पानीको आवश्यकता पूर्ति गर्नका लागि सौर्य ऊर्जाका साथै थप आधुनिक 'डिस्यालिनेशन प्लान्ट' जडान गर्ने आशा गरेको छ। यसलाई उसले राष्ट्रिय सुरक्षाको विषयवस्तु पनि बनाएको छ।  अहिले कतारले आफ्नो सुक्खा भूमिमा दुग्ध र कृषि उत्पादन तीव्र गतिमा विस्तार गर्दै लगेको छ। तर यसले पहिले नै सीमित सङ्ख्यामा रहेको पानीको माग बढाउनेछ। कतारी जलस्रोतको एकतिहाइ भाग कृषिमा प्रयोग हुन्छ जबकि यसले देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा एक प्रतिशतभन्दा कम (लगभग ०.१ प्रतिशत) योगदान पुर्‍याउँछ," डा. बेन-हामादू भन्छन्। स्रोत बिबिसि ।

 

© 2026 esewanews.com.np All rights reserved.