Esewanews

फुटबल बिश्वकपमा ब्राजिल क्वार्टरफाइनलमा ।

Author Esewanews बुधबार, २१ मंसिर २०७९

views
फुटबल बिश्वकपमा ब्राजिल क्वार्टरफाइनलमा ।

दोहा: अन्तिम १६ मा दक्षिण कोरियालाई ४-१ गोलको नतिजामा पराजित गर्दै पाँच पटकको च्याम्पियन ब्राजिल कतारमा जारी फिफा विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ। ९७४ रंगशालामा एसियाली मुलुकमाथि सुरुआतदेखि नै आक्रामक बनेको ब्राजिलले सातौं मिनेटमा अग्रता लिएको थियो। राफिन्हाले दायाँ तर्फबाट गरेको क्रसमा रिचार्लिसन र नेइमारले ट्याप इन गर्न नसक्दा बायाँतर्फ अन्मार्क्ड रहेका भिनिसियस जुनियरको खुट्टामा बल पुगेको थियो। भिनिसियसले पेनाल्टी एरिया भित्रबाट सहज प्रहार गर्दै ब्राजिलको खाता खोलेका थिए।

वु योङ जुङले रिचार्लिसनलाई १८ यार्ड बक्समा फाउल गरेपछि ब्राजिलले पेनाल्टीमार्फत अग्रता दोब्बर पार्ने मौका पाएको थियो। सोही पेनाल्टीलाई गोलमा परिणत गर्दै नेइमारले अग्रता २-० मा लम्ब्याएका थिए। कोरियाली अट्याकर वाङ ही चानले १७औं मिनेमा पेनाल्टी एरिया बाहिरबाट गरेको सशक्त प्रहार ब्राजिलियन गोलकिपर एलिसन बेकरले पञ्च आउट गरिदिएका थिए। एलिसनले क्लियर गरेसँगै पाएको कर्नरमा कोरियाले आक्रामण बन्न सकेको थिएन। सम्हालिन नसकेको कोरियाली रक्षापंक्तिको बीचमा उत्कृष्ट ढङ्गले बल नियन्त्रणमा लिएर आफैँले सिर्जना गरेको मौकामा रिचार्लिसनले ब्राजिलका लागि तेस्रो गोल गरे।

पेनाल्टी एरिया अगाडि कप्तान टिएगो सिल्भालाई पास दिएर ६ यार्ड बक्सतर्फ रन बनाएका रिचार्लिसनले उत्कृष्ट फिनिस गरे। बायाँतर्फबाट ३७औं मिनेटमा भिनिसियसले दिएको पासमा लुकास पाक्वेटाले हाफ भलीमार्फत ब्राजिलका लागि चौथो गोल गरेका थिए। दोस्रो हाफमा सम्हालिने कोसिस गरेको दक्षिण कोरियाका लागि सुङ हो पाइकले ७६औं मिनेटमा एक गोल फर्काएका थिए। लिग चरणको अन्तिम खेलमा क्यामरुनसँग १-० को नतिजामा परातिज भए पनि ब्राजिल समूह जीको विजेता बन्दै अन्तिम १६ मा आइपुगेको हो। समूह एचको अन्तिम खेलमा पोर्चुगललाई २-१ नतिजामा पराजित गर्दै कोरिया तालिकाको दोस्रो स्थानमा रहेर १२ वर्षपछि अन्तिम १६ मा पुगेको हो।

© 2026 esewanews.com.np All rights reserved.