Esewanews

कर्णालीले स्वर्णको ढोका खोल्यो ।

Author Esewanews मङ्गलबार, ०१ कात्तिक २०७९

views
कर्णालीले स्वर्णको ढोका खोल्यो ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णालीले पहिलो स्वर्ण पदक जितेको छ। पोखरामा जारी प्रतियोगिताको एथलेटिक्समा जुम्लाका दुर्गबहादुर बुढाले राष्ट्रिय कीर्तिमानसहित कर्णालीलाई पहिलो स्वर्ण दिलाएका हुन्। उनले पुरुषतर्फको तीन हजार मिटर स्टिपल चेजमा स्वर्ण जितेका हुन्। भारतीय सेनामा कार्यरत बुढाले निर्धारित दूरी आठ मिनेट ५५ः१९ सेकेन्डमा पूरा गरेका थिए। यसअघि सन् २००४ मा पाकिस्तानको इस्लामावादमा राजेन्द्र भण्डारीले आठ मिनेट ५७ः३० सेकेन्डको कीर्तिमान बनाएका थिए। नौ मिनेट २१ः१० सेकेन्डका साथ एपीएफका अजितकुमार यादवले रजत  र नौ मिनेट २१ः१० सेकेन्डमा दौड पूरा गर्दै आर्मीका सुवास कार्कीले कास्य जिते।

कर्णालीलाई पहिलो स्वर्ण दिलाएका बुढाले आफू प्रतियोगितामा पहिलो हुनेमा विश्वस्त रहेको प्रतिक्रिया दिएका थिए। रोजगारीको सिलसिलामा भारतीय सेनामा काम गर्नु आफ्नो बाध्यता रहेको बताउँदै उनले देशका लागि खेल्न आफू संधै तयार रहेको बताए। उनले भारतीय टोलीबाट एसियन च्याम्पियनसिपमा समेत प्रतिस्पर्धा गरिसकेका छन्। स्वर्ण जितेसँगै दुर्गाले कर्णाली प्रदेश सरकारबाट दुई लाख रुपैयाँ पुरस्कार पनि पाउने भएका छन्। कर्णाली प्रदेश खेलकुद परिषद्ले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण जित्ने खेलाडीलाई दुई लाख पुरस्कार दिने घोषणा गरेको  सदस्यसचिव विश्वामित्र सञ्ज्यालले जानकारी दिए। 

 

© 2026 esewanews.com.np All rights reserved.