Esewanews

दशैमा खपत हुने च्याङ्‍ग्रामा समेत तिब्बतको भर ।

Author Esewanews मङ्गलबार, ११ असोज २०७९

views
दशैमा खपत हुने च्याङ्‍ग्रामा समेत तिब्बतको भर ।

व्यवसायीले मुस्ताङका च्याङ्‍ग्रा बजार भित्र्याएका छन् । बागलुङ, पर्वतसहित आसपासमा सोमबार च्याङ्‍ग्रा आइपुगेका हुन् । व्यवसायीले हप्तौँ लगाएर बर्सेनि दशैँमा च्याङ्‍ग्रा भित्र्याउँछन् । दसैँमा च्याङ्‍ग्राको माग उच्च हुन्छ ।

बागलुङका व्यवसायी महेन्द्र केसीले स्थानीय बलबहादुर थापासहित पर्वत र काठमाडौँका दुईदुई व्यवसायी मिलेर दुई सय ५० च्याङ्‍ग्रा ल्याएको बताए । सानो बगालमा किन्न नमिलेपछि छ जना मिलेर ल्यायौँ”, उनले भने, “यीमध्ये केही च्याङ्‍ग्रा काठमाडौँ पुग्छन्, अरु बागलुङ र पर्वतमा बेच्छौँ ।

उनका अनुसार मुस्ताङ पुगेका अरु व्यापारी च्याङ्‍ग्रा ल्याएर बाटोमा फर्किँदैछन् । मुस्ताङको जोमसोम, कागबेनी, चमरलगायत ठाउँमा पुगेर व्यवसायीले च्याङ्‍ग्रा ल्याउँछन् । त्यहाँबाट म्याग्दी, बागलुङ हुँदै पर्वत ल्याइ पुर्याउन हप्ता दिनसम्म लाग्छ । बर्सेनि मुस्ताङी च्याङ्ग्रा पोखरा हुँदै काठमाडौँ पनि पुग्छ ।

सात वर्षदेखि च्याङ्ग्राको व्यापार गर्दै आएका केसीले यसपालि पनि भाउ महँगो परेको सुनाए । रोज्जा च्याङ्‍ग्रालाई मुस्ताङमै रु ४० हजार जति पर्यो, यहाँ बेच्दा त ४५ हजारमाथि पुग्छ”, उनले भने, “तिब्बतबाट च्याङ्‍ग्रा आएन, मुस्ताङको आफ्नै उत्पादन कम छ ।

कोराला नाका नखुल्दा तिब्बतका व्यापारीले च्याङ्ग्रा मुस्ताङ भित्र्याउन पाएका छैनन् । मुस्ताङमा पालिने च्याङ्‍ग्राले मात्र बजार माग धान्दैन । च्याङ्ग्रै कम आएका कारण मूल्य बढेको व्यवसायी बताउँछन् । दुई वर्षअघि रोज्जा च्याङ्‍ग्रालाई मुस्ताङमा रु २७ हजार पाँच सय परेकामा अहिले त्यो बढेर रु ४० हजार पुगेको छ ।

मूल्य चर्को परेपछि कतिपय पुराना व्यवसायी यसपालि च्याङ्‍ग्रा किन्नै नगएको पर्वत, कुश्माका व्यवसायी राजु पुनले बताए । च्याङ्ग्रामा पहिलेको झैँ व्यापार छैन”, उनले भने, “महँगो परेपछि व्यवसायीले पनि झट्ट हात हाल्न आँट गर्दैनन् ।

बर्सेनि भाउ महँगिदै जान थालेपछि च्याङ्‍ग्राको कारोबार कम छ । ठूलो लगानी चाहिने हुँदा व्यवसायीमा पनि रुचि घट्दो छ । बाटोको आउजाउ कठिन हुन्छ, खर्चपर्च धेरै लाग्छ, खेतला लगाउनुपर्छ”, केसीले भने, “तैपनि दशैँमा उपभोक्तालाई च्याङ्ग्रा चखाउनुपर्छ भनेर व्यवसायीले ल्याइरहेका छन् ।उनका अनुसार केही वर्षअघिसम्म बागलुङमा मात्रै दुई हजार बढी च्याङ्ग्रा भित्रिने गरेकामा अहिले त्यो सङ्ख्या केही सयमा मात्र सीमित हुन पुगेको छ ।

सदरमुकाममा मासु पसलसमेत सञ्चालन गर्दै आएका केसीले दशैँमा च्याङ्‍ग्राको मासुको माग अत्यधिक हुने बताए । अहिले च्याङ्‍ग्राको मासु प्रतिकिलो रु दुई हजार बढी पर्ने देखिएको उनको भनाइ छ । हुने खानेले महँगै परे पनि दशैँमा च्याङ्‍ग्राको मासु खोजीखोजी किन्ने गर्छन् ।

कोभिड१९ महाव्याधिपछि च्याङ्‍ग्रा महँगिएको व्यवसायी बताउँछन् । च्याङ्‍ग्रा कम आउनु, बढ्दो करजस्ता कारणले पनि मूल्य बढ्दै गएको हो । स्थानीय तहसहित ठाउँठाउँमा दस्तुर र कर तिर्नुपर्दा थप मर्का पर्ने गरेको व्यवसायीको गुनासो छ । यस क्षेत्रमा मुख्य गरी मुस्ताङ र डोल्पाको च्याङ्‍ग्रा आउने गरेको छ । नाका नखुल्दा तिब्बतको च्याङ्ग्रा भित्रिनसकेको छैन । 

पछिल्लो पाँच वर्षमा रु २० हजारभन्दा बढीले च्याङ्‍ग्राको भाउ बढेको व्यवसायी बताउँछन् । व्यवसायीले एउटा च्याङ्‍ग्रामा रु एकदुई हजारसम्म फाइदा राखेर बेच्ने गरेका छन् । हिमाली हावापानीमा जडीबुटी खाएर हुर्केको हुनाले च्याङ्ग्रा स्वादिष्ट र स्वस्थकर मानिन्छ । मासुजन्य अरु परिकार बाह्रैमास पाइने भए पनि च्याङ्ग्रेका लागि भने उपभोक्ताले दशैँ नै कुर्नुपर्छ । स्रोत रातोपाटी ।

© 2026 esewanews.com.np All rights reserved.