क्रिकेटर सन्दीप लामिछानेलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपलाई विमानस्थलबाट २० असोजमा प्रहरीले पक्राउ गरेको थियो ।
यद्यपी दशैं बिदाका कारण अदालत बन्द हुँदा सोमबार उनलाई अदालतमा उपस्थित गराइएको हो । काठमाडौं जिल्ला अदालतले अनुसन्धान गर्न २० गतेबाट गणना हुने गरि ७ दिनका लागि म्याद थप गरेको छ । अनुसन्धानको लागि लिइएको म्याद असोज २७ गते, बिहीबार सकिनेछ ।
भदौ ५ गते १७ वर्षीया नाबालिगलाई बलात्कार गरेको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान लामिछाने विगत एक महिनादेखि विदेशमा रहेका थिए । पक्राउ पूर्जी जारी भएको करिब एक महिनापछि मात्र उनी नेपाल आएका हुन् ।
युवतीले १९ वर्ष उमेर बताएको सन्दीप लामिछानेकाे दाबी
सन्दीप लामिछानेले आफूलाई बलात्कारको आरोप लगाउने युवतीले १९ वर्ष उमेर भएको बताएको दाबी गरेका छन् ।
जिल्ला अदालत, काठमाडौंमा न्यायाधीशले सन्दीपलाई घटनाबारे सोध्दा सन्दीपले न्यायाधीशसँग युवतीले आफू १९ वर्ष भएको बताएको र भविष्यमा फाइदा हुने भएकाले उमेर घटाएको भनेको उनका कानुन व्यवसायी सुधा रिजालले बताइन् ।
अधिवक्ता रिजालले पीडित युवतीका दुईवटा जन्मदर्ता देखिएको र त्यसमा नाबालिग नदेखिएको बताएकी छिन ।
त्यसक्रममा लामिछानेले जाहेरवालाकै आग्रहमा भेटेको र उनी नाबालिग नभएको दाबी गरेका छन् ।
अर्का अभिवक्ता सुधा रिजालले भने सन्दीपलाई फसाउनकै लागि नाबालिका देखिने गरी जन्मदर्ता बनाएको दाबी गरिन् ।