सर्वोच्च अदालतको आदेशपछि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पदबहाली गरेका छन् । अदालतले हिजो गभर्नर अधिकारीलाई कुनै कारबाही नगर्न अन्तरिम आदेश दिएको थियो । अदालतले दिएको आदेशको पालना गर्दै उनले आज पदबहाली गरेका हुन् ।
पदबहाली गर्दै गभर्नर अधिकारीले भने, ‘अदालतले पछिपनि न्याय दिनेमा विश्वस्त छु ।’
न्यायाधीश हरि फुँयालको एकल इजलासमा भएको सुनुवाइपछि गभर्नर अधिकारीलाई नहटाउन र पदमा रहेर काम गर्न दिन आदेश जारी गरेको थियो ।
अधिकारीको पक्षबाट वरिष्ठ अधिवक्ताहरू सुशील पन्त, शम्भु थापा, राधेश्याम अधिकारी, हरिहर दाहाललगायतले बहस गर्दै सरकारले बदनीयतपूर्वक गभर्नरलाई निलम्बन गरेको जिकिर गरेका थिए । अदालतले वैशाख १३ गते दुवै पक्षलाई छलफलका लागि आउन भन्दै त्यतिन्जेल गभर्नर अधिकारीमाथि कुनै कारबाही नगर्न र यथास्थितिमा राख्न आदेश दिएको थियो ।