अंग्रेजी नयाँ वर्षको पहिलो कारोबार दिन सेयर बजारले उत्साह भर्ने काम गरेको छ । आइतबार नेप्से सूचकमा आकर्षक वृद्धि हुँदा खरिदबिक्री रकम समेत विस्तार भएको छ । यस दिन नेप्से सूचक ६०.४१ अंकले बढेर २५८४.९१ विन्दुमा आइपुगेको छ । ४ अर्ब १२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । बजारमा त्रमिक सुधार देखिन थालेपछि सर्वसाधारण लगानीकर्ताको मनोबल पनि वृद्धि हुँदै गएको छ ।
करिब ४ महिना अवधिमा झन्डै ३० प्रतिशतले घटेको बजार विस्तारै लयमा आउने प्रयत्न गरेको देखिन्छ । बजार विश्लेषकहरुले विभिन्न तथ्य र आँकडाहरुलाई आधार मानेर विभिन्न उतारचढावहरुका बाबजुत पनि समग्रमा बजार विस्तारै अपट्रेन्डमा जाने अनुमान लगाएका छन् । हाम्रो सेयर बजारलाई सधैं नीतिगत विषयले प्रभाव पार्दै आएको छ । यसअघि पनि केन्द्रीय बैंककै सेयर धितो कर्जाको सीमाका कारणले बजार ओरालो लाग्न थालेको थियो ।
यही बेला बजारमा तरलता अभाव र ब्याजदर वृद्धि पनि भयो । यसले बजारलाई झनै अप्ठेरोमा पारेको थियो । तर अहिले फेरि नीतिगत परिवर्तनहरु गरिएका छन् । तरलता सहज पार्ने टुल्सहरुको पनि प्रयोग गरिएको छ । केन्द्रीय बैंकले आयातमा कडाई गरेको । डलर सटहीमा कडाई गरिएको छ । अर्थ मन्त्रालयले स्थानीय तहमा जाने बजेटको ८०% सम्म रकमलाई निक्षेपमा गणना गर्न दिएको छ । यस्तै, बैंकहरुले पुसमा ब्याजदर बढाएका छैनन् । बजारमा सेयर भाउहरु निकै सस्तो भइसकेको छ । बुल रन जारी रहेको विश्लेषणहरु भइरहेका छन् । यी तथ्यहरुका आधारमा लगानीकर्ताहरु उत्साहित बनेको अनुमान गरिएको छ । आम लगानीकर्ताले सकेसम्म सबल वित्तीय सूचक भएका कम्पनीहरुमा आधारभूत अवस्था अध्ययन गरेर भ्याल्यू इन्भेष्टमेन्टको अवधारणालाई अवलम्बन गर्न सके बजारबाट लाभ लिन सकिने विश्वास गर्न सकिन्छ । लगानी गर्दा कम्पनी छनोटमा भने विशेष ध्यान दिन विज्ञहरुले सुझाव दिने गरेका छन् । कम्पनीको नाफा, रिजर्भ, लाभांश क्षमता, इपीएस, पीइ रेसियोका साथमा व्यवसाय विस्तारको सम्भावनातर्फ पनि विशेष ख्याल गर्नुपर्ने हुन्छ । कम्पनीहरुले सार्वजनिक गरेका वित्तीय विवरणहरु, सम्बद्ध कम्पनीको व्यवस्थापन र सञ्चालकहरुका बारेमा पनि अध्ययन गर्नुपर्छ ।
यस्तै, सम्बद्ध क्षेत्रमा व्यवसायको अवसर र प्रतिस्पर्धा, कम्पनीहरुको चुक्ता पुँजी कति छ ? नियमनको अवस्था कस्तो छ ? भन्ने विषयतर्फ पनि अध्ययन गर्न अनुभवीहरुले सुझाव दिने गरेका छन् । लगानीकर्ताले कुन उद्देश्यले सेयर किन्ने हो ? आफू इन्भेष्टर र कि ट्रेडर भन्नेसमेत ध्यान दिंदै सोही अनुसार रणनीतिहरु तय गर्नुपर्ने हुन्छ ।
यस दिन २४० कम्पनीको ७१ लाख ६० हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २ कम्पनीको भाउमा सकारात्मक सर्किट लागेको छ । खरिदबिक्री रकमममा ४४ करोड ९४ लाख रुपैयाँभन्दा बढीसहित हिमालन डिष्टिलरी अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रोमा नबिल बैंक र तेस्रोमा नेपाल बंगलादेश बैंक परेका छन् । बिमा, विकास बैंक लगायतका समूहमा पनि आकर्षक सुधार देखिएको छ ।