गत चैत २० गतेको मन्त्रिपरिषद बैठकले त्रिविको स्वामित्वमा रहेको कीर्तिपुरस्थित परीक्षा नियन्त्रण कार्यालयको पश्चिततर्फ गाङ्खेलको ६० रोपनी जग्गा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) लाई दिने निर्णय गरेको छ ।
आईओएमकी डीन प्रा.डा. दिव्यासिंह शाहका अनुसार नेफ्रोलोजी (मृगौला) तथा युरोलोजी (पिसाबसम्बन्धी) लगायतका अन्य जटिल रोगको अध्ययन अध्यापन तथा तालिमसहित विशिष्टकृत स्वास्थ्य सेवा प्रदान गर्ने मेडिकल सुपरस्पेस्यालिटी केन्द्र र राष्ट्रिय रोग निदान केन्द्र बनाउने योजना छ । ‘नयाँ संरचनाको लागि करीव २५० देखि ३०० रोपनी जग्गा चाहिन्छ, त्रिविकै अरु जग्गासमेत लिनेछौं’ प्रा. डा. शाहले भनिन् ।
नयाँ संरचनामा युरोलोजी र नेफ्रोलोजीबाहेक न्युरोसर्जरी (नशासम्बन्धी), पल्मोनरी (फोक्सोसम्बन्धी), कार्डियोलोजी (मुटुसम्बन्धी), ग्यास्ट्रोलोजी (पेटसम्बन्धी)लगायतका विभिन्न विषयमा विशेषज्ञ सेवा सञ्चालन हुनेछ ।
महाराजगञ्ज स्थान अभाव भएका कारण सेवा विस्तार गर्न नसिकएको उनले बताइन् । ‘एक महिनाभित्र नक्सा डिजाइनसहितको डीपीआर तयार हुने र त्यसपछि अन्य काम अघि बढ्नेछ’ प्रा.डा. शाहले बताइन् ।