ताजा समाचार
Home / Headline / सेयर सापटी लिएर बेच्न सकिने व्यवस्था हुँदै

सेयर सापटी लिएर बेच्न सकिने व्यवस्था हुँदै

एकै दिनमा एउटा व्यक्तिले एउटै कम्पनीको सेयर धेरैपटकसम्म किनबेच गर्न सकिने

सेयर बजारमा लगानीको गतिविधि बढाउन अन्तरदिवसीय कारोबार (इन्ट्रा डे ट्रेडिङ)को तयारी सुरु गरिएको छ । यसका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अधिकारीको संयोजकत्वमा एक अध्ययन समिति नै बनेको छ । विश्वका विभिन्न मुलुकमा कारोबार संख्या र बजारको आकारमा बढोत्तरी हुन अन्तरदिवसीय कारोबारको मुख्य भूमिका रहने नेप्सेका प्रवक्ता तथा अध्ययन समिति संयोजक मुराहरि पराजुलीले बताए । उनले भने, ‘अहिले हामी दोस्रो बजारमा अनलाइनका माध्यमबाट कारोबार गर्न थालिसकेका छौँ, प्रविधिमा स्थायित्व पाउँदै गएकाले समेत यस्तो कारोबार सुरु गर्न सकिने देखेर अध्ययन थालेका हौँ ।’ एक दिनमा एउटा व्यक्तिले एउटै कम्पनीको सेयर धेरैपटकसम्म किनबेच गर्न सकिने व्यवस्थालाई अन्तरदिवसीय कारोबार भनिन्छ ।

आफूसँग सेयर नै नभए पनि कारोबार 
अन्तरदिवसीय कारोबारमा लगानीकर्ताभन्दा कारोबारी ट्रेडर्सले सेयर किनबेच गर्छन् । यस्तो कारोबार सेयरको उद्देश्य स्वामित्व लिनभन्दा पनि मूल्यअन्तरमा हुने लाभ लिने उद्देश्यले गरिन्छ । यस्तो कारोबार गर्नेसँग साथमा सेयर नै भने नहुन सक्छ । कुनै दिन बजार घट्न लागेमा यस्ता कारोबारीले सुरुमै बढी मूल्यमा सेयर बेचिदिन्छन् । यसरी बेच्दा लगानीकर्तासँग सेयर साथमा हुँदैन, तर त्यही दिन बजार घटेपछि भने किनेर त्यसअघि बिक्री गरेको सेयर फिर्ता गरिदिन्छन् । एक दिनमा सेयर कारोबारीले यस्तो किनबेच पटक–पटक गरेको हुन्छ भने बजार बन्द हुँदा आफूले बेचेको र किनेको सेयर बराबर बनाएर हिसाब मिलाउँछ । कारोबारको यस्तो प्रक्रियालाई मार्जिन इन्ट्रा डे स्क्वायर अफ पनि भनिन्छ । अर्थात् यस्तो कारोबारको लेनदेनको हिसाब मिलान त्यही दिन नै हुनुपर्छ । यस्तो कारोबारमा एकै दिन बजार घट्दा किन्ने र मूल्य बढेपछि बेच्नेसमेत गर्न सकिन्छ ।

कारोबारमा लगानीकर्ताभन्दा कारोबारी ट्रेडर्सले सेयर किनबेच गर्छन् । सेयर किनेर राख्ने, नामसारी गर्ने, लाभांश लिने वा कम्पनीमा प्रतिनिधित्व गर्ने वा चुन्ने प्रक्रियामा यस्ता कारोबारी संलग्न हुँदैनन् ।

बेचेको सेयर दिन नसके के हुन्छ ? 
अन्तरदिवसीय कारोबार गर्दा सस्तोमा सेयर किनेर महँगोमा बेच्न सफल भयो भने समस्या हुँदैन । तर, मानौँ कसैले बजार थप घट्छ भन्ने अनुमानमा घटेपछि उठाएर दिने उद्देश्यले सुरुमा आफूसँग हुँदै नभएको सेयर बिक्री गरिदियो । बजार भने बढिरह्यो । कारोबारीले बढेको मूल्यमा सेयर किनेर दिन सक्ने अवस्था हुँदैन । यस्तो अप्ठ्यारो मिलाउनका लागि भने बजारमा अन्य पूर्वाधारसमेत चाहिन्छ । त्यस्ता पूर्वाधार हुन्, सेयर सापटी लेनदेन गर्न पाइने प्रणाली वा अक्सन बजार ।

कारोबारीले आफूसँग नभएको सेयर सापटी लिएर महँगोमा बेच्ने र भविष्यमा सस्तो मूल्यमा खरिद गरेर सापट दिने निकायलाई फिर्ता गर्ने गर्छन् । धितोपत्र सापटी लेनदेन गर्न सहभागी हुने मध्यस्थकर्ताले नियामक निकाय धितोपत्र बोर्डबाट अनुमति लिएका हुन्छन् ।

‘कतिपय लगानीकर्ताले लामो अवधिका लागि सेयर होल्ड गर्ने गर्छन्,’ पराजुलीले थपे, ‘त्यसरी निष्क्रिय रहने सेयरबाट समेत आम्दानी गर्न चाहने दाताले निश्चित समयपछि फिर्ता लिने गरी मध्यस्थकर्तालाई ट्रस्टी बनाएको हुन्छ ।’

मध्यस्थकर्ता र दाता लगानीकर्ताबीच सम्झौतासमेत हुन्छ । आफूसँग नभएको सेयर बिक्री गर्नुअगाडि कारोबारीले मध्यस्थकर्ताबाट सापटीसमेत लिएको हुन्छ । यसले गर्दा कारोबारीले बिक्री गरेको सेयर बजारबाट किनेर दिन नसके पनि समस्या हुँदैन । मध्यस्थकर्ताकहाँ भने निष्क्रिय लगानीकर्ताले सेयर जम्मा गर्ने–फिर्ता लिने भइरहन्छ, बैंकमा रकम राख्ने र झिक्ने प्रक्रिया चलिरहेजस्तै । कारोबारीले यस्ता मध्यस्थकर्ताबाट समेत सेयर नपाएको अवस्थाका लागि भने अक्सन बजार विकल्प हुन्छ ।

अक्सन बजारको सञ्चालन भने स्टक एक्सचेन्जहरूले नै गर्छन् । यो एउटा कारोबार स्थलजस्तै हो, जहाँ सेयर भुक्तानी दिन नसकिरहेका लगानीकर्ता वा कारोबारीले सेयर किनेर भुक्तानी गरिदिन्छन् । भारतमा अक्सन मार्केटमा सेयरको मूल्य सीमा कारोबारपछिको अर्को दिन (टी प्लस वान)मा कायम भएको अन्तिम मूल्यमा २० प्रतिशत घटबट हुन सक्ने गरी तोकिएको पराजुली बताउँछन् ।

हालसम्म नेपालमा सेयर सापटी लेनदेन प्रणाली र अक्सन बजार सञ्चालनमा छैन । अन्तरदिवसीय कारोबार सुरु गर्नुअघि यी पूर्वाधारसमेत बनाउनुपर्ने अध्ययन समितिले निष्कर्ष निकालेको छ । यद्यपि, अध्ययनले पूर्णता पाइसकेको छैन ।

हुन सक्ने परिवर्तन 
अन्तरदिवसीय कारोबारका क्रममा विभिन्न नियमहरू परिवर्तन गर्नुपर्ने अध्ययन समितिको प्रारम्भिक अध्ययनमा समेटिएको छ । धितोपत्र व्यवसायको किसिममा हालसम्म धितोपत्र सापटी लेनदेनलाई समेटिएको छैन । यसलाई समेट्नुपर्नेछ । त्यस्तै, धितोपत्र कारोबारपछि खरिदकर्ताका नाममा सेयर हस्तान्तरण हुनैपर्ने व्यवस्था छ । अन्तरदिवसीय कारोबारलाई यसले बाधा नपुग्ने व्यवस्था गर्नुपर्ने देखिन्छ । हाल बजारमा अडलट (१० रुपैयाँ अंकित मूल्य भएका १ सय कित्ताभन्दा कम इकाइ वा अंकित मूल्य १ सय भएका १० कित्ताभन्दा कम सेयर) कारोबारसमेत हुने गरेको छ ।

अन्तरदिवसीय कारोबारमा भने अडलटलाई समावेश गर्न नमिल्ने व्यवस्था आवश्यक रहेको अध्ययन समितिको सुझाब छ । हाल सेयर कारोबारका क्रममा लगानीकर्ताले ब्रोकरकहाँ २५ प्रतिशतबराबर रकम अग्रिम राख्नुपर्ने व्यवस्था छ । अन्तरदिवसीय कारोबारका लागि जोखिमका आधारमा ब्रोकरले नै यसको निर्धारण गर्न सक्ने सुविधा दिनुपर्ने देखिन्छ । त्यस्तै, यस्तो कारोबारका लागि ब्रोकरहरूले आफैँले कमिसन दर निर्धारण वा यसमा छुट दिन सकिने व्यवस्था पनि आवश्यक हुनेछ ।

अन्तरदिनको कारोबारको समयावधि तोक्दा कारोबार बन्द हुने अवधि नियमित कारोबारको भन्दा आधा घन्टाअघि गर्नुपर्ने, हाल बजारमा लाग्ने सर्किट ब्रेकरको सीमालाई बढाउनुपर्ने, कारोबार मूल्यका लागि राखिने गरिएको रेन्ज घटाउनुपर्नेलगायतका व्यवस्थाहरूमा परिमार्जन गर्नुपर्ने अध्ययन समितिले उल्लेख गरेको छ । समितिमा एनआइबिएल क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापा, ब्रोकर एसोसिएसनका अध्यक्ष सन्तोष मैनाली, नेप्सेका प्रविधि विभागका निरञ्जन नायक, सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएससी)बाट योगराज जोशीलगायत छन् ।

Check Also

धमाधम घोषणा हुँदै लाभांश, अहिलेसम्म कुन–कुनले कति गरे प्रस्ताव ?

 नेप्सेमा सूचीकृत ३० कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा ...

Comments are closed.