कञ्चनपुरका बजार पूर्णरूपमा खुला रहेको र केही सातायता सरकारले स्थानीय तहलाई विद्यालय सञ्चालनको अनुमति दिएपछि स्थानीय तहहरु तोकिएका मापदण्ड पुरा गरेर विद्यालय सञ्चिालन गरिरहेका थिए । सञ्चालनमा आएका केही विद्यालयमा शिक्षक तथा विद्यार्थीहरुलाई एकसाथ कोरोना देखिएपछि पुनःविद्यालयहरु बन्द भएका छन ।
२ दिनअघि भीमदत्त नगरपालिकाले विज्ञप्ति जारी गर्दै विद्यालय बन्द गरिएको जनाएको छ । शनिबार जिल्लाको दक्षिण क्षेत्रमा रहेको बेलौरी नगरपालिकाले एक हप्तासम्मका लागि नगर क्षेत्रभित्र निषेधाज्ञा जारी गरेको छ ।
शिक्षा विकास तथा समन्वय एकाइ कञ्चनपुरका प्रमुख भरतबाबु सुवेदीले विद्यालय सञ्चालन कार्य ढाँचाः२०७७ अनुसार पालिकाबाट स्वीकृति लिएर विद्यालय सञ्चालन गर्न सकिने शिक्षा मन्त्रालयबाट निर्देशिका जारी भएको बताए ।
महामारीको स्थितिलाई मध्यनजर गर्दै बेलौरीमा सङ्क्रमण थप फैलिन नदिन र भिडभाड न्यूनीकरण गर्न आजदेखि पुस ११ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको बेलौरी नगरपालिकाले जनाएको छ ।
नगर क्षेत्रभित्रका सम्पूर्ण सरकारी तथा गैरसरकारी सङ्घसंस्था, वित्तीय संस्था, शिक्षण संस्था, व्यवसाय, सीमा नाका र सवारी साधनको आवतजावत पूर्णरूपमा बन्द गर्ने निर्णय गरिएको नगर प्रमुख पोतिलाल चौधरीले बताए । औषधालय, आयल स्टोर तथा उखु किसानका उखु ढुवानी साधन भने खुला रहने बताइएको छ ।
जिल्लाको दोधारा चाँदनी नगरपालिकामा पनि एक साताका लागि निषेधाज्ञा गरिएको छ । नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी र समुदायस्तरमा कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि नगर क्षेत्र बन्द गर्ने निर्णय गरिएको नगरपालिका कार्यालयले जनाएको छ ।
सो अवसधमा अत्यावश्यक कामबाहेक सबै क्षेत्र पूर्णरूपमा बन्द गर्ने निर्णय गरिएको नगरपालिकाका प्रवक्ता दिलबहादुर सिजालीले बताए । कोभिड–१९ कञ्चनपुरका सम्र्पक व्यक्ति सिद्धराज भट्टले समुदायमा सङ्क्रमण फैलिने क्रममा रहेकाले भीडभाड नगर्न र सावधानी अपनाउन आग्रह गरे ।RSS