ताजा समाचार
Home / राजनीति / पुँजीवादी व्यवस्था र भ्रष्टाचार

पुँजीवादी व्यवस्था र भ्रष्टाचार

दुर्गानाथ खरेल
समाज विकासको क्रममा तत्कालीन समाजको आवश्यकतालाई समाधान गर्ने सिलसिलामा पुँजीवादी व्यवस्था सुरु भएको हो । सम्पन्न वर्गका व्यक्तिको सम्पन्नतालाई बैद्य बनाउने कामकै क्रममा यो व्यवस्था आएको हो । यो व्यवस्था मान्छेले मान्छेलाई शोषण गर्ने उच्चस्तरको व्यवस्था हो । यो पहिलेका व्यवस्थाभन्दा प्रगतिशील भएकै कारणले हुर्केर आफ्नो नाफा कमाउने उद्देश्यमा सफलतापूर्वक गतिशील भएको हो । यो शोषणप्रधान व्यवस्थाको उच्च रूपको व्यवस्था भएकाले यसलाई समाप्त पार्ने भनेको मान्छेबाट मान्छेमाथि हुने शोषणलाई घटाउने नै हो । शोषण घटाउनेभन्दा नयाँ किसिमले शोषण गर्न सुरु गर्ने हो भने व्यवस्थाको अन्त्य हुन्न, झन् लामो समयसम्म कायम रहन सक्छ । त्यसकारण शोषकवर्गबाट राज्यसत्ता बलपूर्वक खोसेर शोषितवर्गले सञ्चालन गर्ने र वर्गसङ्घर्ष सञ्चालन गरेर वर्ग निर्मूल पार्ने अभियानमा लाग्नुपर्दछ ।

वर्तमान व्यवस्थाले शोषणलाई बैद्य बनाएको छ । नाफा कमाउने नाममा मान्छेलाई चरम शोषण गरिरहेका छन् । यो व्यवस्था नाफा कमाउन पाउने व्यवस्था हो । नाफा कमाउने काम भ्रष्टाचार बढाउने काम पनि हो । किनभने एउटाको श्रम अर्कोको साथमा गएर मात्र नाफा हुने हो । नाफा व्यक्ति वा वर्गलाई शोषण नगरेसम्म आफ्नो साथमा आउन सक्दैन । पुँजीवादी व्यवस्था नाफा कमाउने, नाफा बढाउने र सुविधा बढाउँदै शोषणलाई तीव्रता दिने व्यवस्था हो । यो अन्य व्यवस्थाको तुलनामा प्रगतिशील भएकाले लामो समयको अभ्यासपछि समाजमा स्थापित भएको व्यवस्था हो । प्रगतिशील यस मानेमा हो कि यसले पहिलेका व्यवस्थाले भन्दा उत्पादनमा वृद्धि गरायो । उत्पादनमा वृद्धि गराउनुको मुख्य उद्देश्य शोषण बढाएर मात्र पूरा हुन सक्छ । शोषण बढाउने भनेको भ्रष्टाचार गर्ने नै हो । सदाचारबाट नाफा आउन्न । त्यसकारण व्यवस्थाको शोषणलाई शोषितवर्गले नबुझेर नै यस व्यवस्थाको आयु लामो भएको छ । बुझेपछि पनि सङ्गठित प्रयत्नको लामो अभ्यासमा नजाने भएकाले व्यवस्था रहेको छ ।

यो एक्लै र एउटाको र थोरै समयको प्रयत्नबाट समाप्त पार्न सकिने व्यवस्था होइन । फेरि यसमा सुधार गरेर मात्र शोषण समाप्त हुने पनि होइन । यसमा आमूल परिवर्तनको आवश्यकता पर्दछ । यो भनेको यसको विपरीत धु्रवमा गतिशील राजनैतिक पार्टी खडा गरेर वर्तमान व्यवस्थाअन्तर्गत नेताको ठाउँमा नेता, कर्मचारीको ठाउँमा कर्मचारी, प्रहरीको ठाउँमा प्रहरी, सेनाको ठाउँमा सेना बनाउँदै सबैलाई ज्याला खाने राजनीतिक पार्टीको मातहतमा राख्ने काम गर्नुपर्दछ । त्यो व्यवस्थामा आमूल परिवर्तन गर्नुपर्छ भनेको हो । आमूल परिवर्तन गर्न उदीयमान वर्गबाट सम्भव छ । उदीयमान वर्गका प्रतिनिधि भएको राजनीतिक पार्टी भए मात्र त्यसले आमूल परिवर्तनको नेतृत्व गर्न सक्छ ।

कम्युनिस्ट पार्टी तिनै उदीयमान वर्गको प्रतिनिधि संस्था हो । आफैले अवसर खोज्नेले नाम मात्र कम्युनिस्ट राखेर त्यो कम्युनिस्ट पार्टी राखेका हुन्न । कम्युनिस्ट पार्टीमा सर्वहारा वर्गको अधिनायकत्व कायम हुन्छ । मजदुर–किसानको प्रतिनिधि संस्था कम्युनिस्ट पार्टी हो । त्यो पार्टीले नयाँ र उच्च किसिमको उदीयमान शक्ति निर्माण गरेर राज्यसत्ता प्राप्त गर्ने उद्देश्यसहित आफ्ना गतिविधि अगाडि बढाउनुपर्दछ । त्यसका लागि जनताको पक्षमा काम गर्ने नेता–कार्यकर्ताको भूमिका महत्त्वपूर्ण हुन्छ ।

जनताले धर्म मान्छन्, राजा मान्दछन्, सत्तासिन वर्गलाई आफ्नो नेता मान्दछन्, समग्रमा सत्ता मान्छन् । जनताको राज्यसत्ता कब्जा भएपछि सत्तासिन वर्गलाई आफ्नो नेता मान्ने हुनाले जनताको विश्वास जित्न सजिलो हुन्छ । आफ्नो स्वर्ग गुमेको हुनाले पुँजीपतिलगायतका सम्पन्न वर्गले अहिलेभन्दा १० गुणा बढी शक्ति लगाएर प्रतिगमनको काममा लाग्छन् । त्यतिखेर जनताको राजनैतिक चेतना उच्च बनाएको नहुने हो भने सजिलै प्रतिगमनलाई साथ र सहयोग गर्न लाग्छन् । त्यसकारण अहिलेदेखि जनताको पिछडिएको चेतनाबाट फाइदा उठाउनतिर नलागेर उनीहरूलाई सचेत र सङ्गठित बनाउनेतिर बढी ध्यान केन्द्रित गर्नुपर्दछ । अर्को कुरा, जनताको विश्वास जित्ने काममा व्यक्ति लोकप्रिय बन्नेतिरभन्दा सङ्गठनको भूमिका उच्च बनाउनेतिर पार्टीको ध्यान केन्द्रित गर्नुपर्छ । त्यो भनेको जनताका पक्षमा काम गर्ने टिम तयार पारेर परिचालित हुनुपर्छ ।

यो नाफामा आधारित व्यवस्था हो । त्यति मात्र होइन, नाफा कमाउने उच्च रूप पनि हो । यसलाई परास्त गर्न ज्याला खानेहरूको सङ्गठित प्रयत्नबाट मात्र सम्भव छ । वर्तमान समाजमा ज्याला खानेहरूको सङ्ख्या तीव्र रूपमा बढिरहेको छ । तर ज्याला खानेहरूको सङ्गठित प्रयत्न कमजोर अवस्थामा छ । उनीहरूबिच लगन, सङ्गठन, अनुशासन र दृढताको कमी छ ।
निम्न पुँजीवादी आर्थिक अवस्था भएको र त्यसैअनुसार विश्वदृष्टिकोण भएका कारणले धनसम्पत्ति व्यक्तिगत स्वामित्वमा राखेर सुविधासम्पन्न व्यक्ति भई मुक्त हुने उद्देश्य छ । त्यही मान्यताको आधारमा आफ्ना गतिविधि र कामकारबाही अगाडि बढाउने गर्दछन् । त्यो उद्देश्यमा आमूल परिवर्तन गर्न आवश्यक छ ।

सामूहिकता अपनाउनुपर्ने र नअपनाई नहुने कारण स्पष्ट पारेर उनीहरूलाई सामूहिकतामा जाने अभ्याससमेत गराउनुपर्ने आवश्यकता छ । कुनै काम पनि एक्लै वा एउटाको प्रयत्नबाट पूरा नहुने र धेरै जनाको सामूहिक प्रयत्नबाट तयार भएका खाने वस्तु, लाउने वस्तु र प्रशस्त बनाएका वस्तुहरू हाम्रा क्षण क्षणका आवश्यक वस्तु हुन् । त्यति मात्र नभई शिक्षा, स्वास्थ्य र रोजगारका आवश्यकता पनि सामूहिक प्रयत्नबाट मात्र व्यवहारमा जान सक्ने हुन्छन् । त्यसैले तिनीहरूलाई सामूहिक स्वामित्वमा लैजानुपर्ने हुन्छ ।

व्यक्तिगत स्वामित्वमा लैजानुपर्ने कारण मान्छेले मान्छेलाई शोषण गर्न र सम्पन्न वर्गीय अधिनायकत्व कायम गरी ज्याला खाएर काम गर्नेहरूको शोषण बढाउनलाई नै हो । त्यस्ता सामूहिक आवश्यकताका वस्तुलाई सामूहिक स्वामित्वमा लगेर हरेक व्यक्तिले आफ्नो योग्यतानुसारको काम गर्ने र कामअनुसार ज्याला लिएर आफ्ना व्यक्तिगत आवश्यकता पूरा गर्ने गराउनुपर्छ । त्यसो नगर्दासम्म नाफा खानेहरूबाट ज्याला खानेहरूको शोषण गर्ने र शोषण बढाउने काम भइरहन्छ । त्यसका लागि सबै ज्याला खानेहरू एक भई सङ्घर्ष गरेर नाफा खानेहरूको शोषणबाट मुक्त हुन आवश्यक छ । ज्याला खाने अधिकार सबैलाई छ र नाफा खाने अधिकार कसैलाई छैन । तर नाफा खाने व्यवस्था मानव समाजमा लामो समयदेखि चल्दै आएको हुनाले यो स्वाभाविकजस्तो मात्र होइन, अपरिहार्यजस्तो लाग्ने गरेको छ ।
काम नगरिकन नाफाको हिस्सा पाउने काम आफै भ्रष्टाचार हो । त्यसकारण यो व्यवस्था रहेसम्म भ्रष्टचार निर्मूल हुन सक्दैन । नाफा कमाउने उद्देश्य नै भ्रष्टाचारको श्रोत हो । बढी नाफा कमाउनु भनेको नै बढी भ्रष्टाचार गर्नु हो । योग्यताको प्रयोग गर्नमा प्रतिष्पर्धा हुने भए व्यक्ति गम्भीर भएर समाजको एउटा सदस्यको हैसियतमा आफ्नो जिम्मेवारी पूरा गर्न ध्यान दिने थियो । त्यसो नभई भ्रष्टाचार गर्ने काममा नै प्रतिष्पर्धा हुने भएकाले अनिवार्य रूपमा भ्रष्ट चरित्र ग्रहण गर्ने र गर्नेपर्ने बनाउन वर्तमान व्यवस्थाले व्यक्तिलाई प्रोत्साहित गर्दछ ।

यो व्यवस्थामा महत्त्वपूर्ण व्यक्ति बन्ने भनेको भ्रष्ट व्यक्ति हुने नै हो । उसले सबैभन्दा बढी भ्रष्ट व्यक्तिले गर्ने काम गर्दछ । आफ्नो योग्यताको प्रदर्शन गरेर ज्याला खानेमा होइन, जनताको मिहिनेत र पसिनाबाट जम्मा भएको राजस्वको रकम असमान तरिकाले वितरण गर्दै ऊ भ्रष्टचारमा अभ्यस्त भएको हुन्छ । जो अयोग्य छ, उसैलाई धेरै रकम वितरण हुन्छ । काम गर्नेमाथि पचास किसिमका झन्झटिला प्रश्न तेर्साउँछन् । काम नगर्ने ठगलाई पैसा बाँड्ने अधिकार दिन्छन् । त्यसकारण भ्रष्टाचार बढ्दै जान्छ । कामको मूल्याङ्कन गर्दा योग्यताको आधारमा नभई भ्रष्टताको आधारमा गरिन्छ । त्यसैलाई समाजसेवाको नाम दिइन्छ ।

राज्यसत्तामा आबद्ध व्यक्तिहरूको मूल्याङ्कन जनताले गर्न पाउन्नन् र भ्रष्टचारीले गर्दछन् । काम गर्ने वर्गले होइन, सुविधाभोगी वर्गले भ्रष्टाचार गर्दछन् । काम गर्नेले मूल्याङ्कन गर्न पाउने भए चुनावबाट जित्नेले होइन, कामबाट जित्नेले सुविधा उपभोग गर्न पाउने थिए । चुनाव जित्नेले शासन गर्न पाउने भए प्रहरी, सेना, कर्मचारी सबै चुनाव लडेर जाने थिए । चुनाव नलडिकन शासन गर्ने मान्छेको तुलनामा चुनाव लडेर विजयी भई शासनसत्तामा सहभागी हुनेको सङ्ख्या थोरै हुन्छ । शासन बहुमतले गर्छन् । त्यसकारण चुनाव जित्ने अल्पमतका व्यक्तिहरू तिनै बहुमत सङ्ख्याको मातहतमा रहेर भ्रष्टाचारमा सहभागी हुनुभन्दा अरू काम गर्न सक्दैनन् ।

समाजवादी व्यवस्थाको विकल्प प्रस्तुत नहुँदासम्म पुँजीवादी व्यवस्था प्रगतिशील व्यवस्था थियो । यो सामन्ती व्यवस्थाभन्दा प्रगतिशील व्यवस्था पनि हो । तर समाजवादी व्यवस्थाको तुलनामा यो भ्रष्ट व्यवस्था हो । ज्याला खाने वर्गलाई शोषण गर्ने व्यवस्था हो । जहिलेसम्म ज्यालादारी वर्गले सचेत र सङ्गठित भई सङ्घर्ष गर्दैन, तबसम्म यो व्यवस्था रहिरहन्छ । ज्याला खाने वर्ग सत्तासिन भएपछि सामूहिक स्वामित्वको सुरुवात हुन्छ । वर्गसङ्घर्षमा मजदुर–किसानलाई राज्यसत्ताले सहयोग गर्ने हुँदा शोषण हट्न बाध्य हुन्छ । उत्पादनका साधनलाई सामूहिक स्वामित्वमा लैजाने कामले वर्गको शासन कम गर्दै लैजान्छ । त्यसबाट वर्गविहीन समाज निर्माण गर्न सहयोग पुग्छ । आफू शोषितवर्ग भएको हुनाले आफैले शोषण गर्नेमा होइन, शोषण समाप्त पार्ने पक्षमा काम हुन्छ । सामूहिक प्रयत्नबाट उत्पादन भएक वस्तुको स्वामित्व सामूहिक बनाउँदा न्याय पनि हुन्छ ।

\शोषितवर्गको सत्ता हुँदा प्रकृतिले सित्तैमा दिएका जल, जमिन, जङ्गल, हावा, प्रकाश र खनिजजस्ता वस्तुलाई आफ्नो मातहतमा दर्ता गरेर व्यक्ति सम्पन्न हुने काम रोकिन्छ । सबै व्यक्ति एकापसमा मैत्रीभावका साथ सामूहिक किसिमले प्रकृति विरुद्ध सङ्घर्ष गर्ने काम सुरु हुन्छ । खाने, लाउने, बस्ने, शिक्षा, स्वास्थ्य, रोजगारजस्ता सामूहिक समस्या सामूहिक रूपमा नै सम्बोधन हुन्छन् । सम्पन्नवर्गका व्यक्ति भएकाले काम नगरिकन उच्च सुविधा उपभोग गर्ने चलनको अन्त्य हुन्छ । काम गर्नुपर्ने कारण आफ्ना व्यक्तिगत समस्या समाधान गर्नका लागि हो । जब बिहान, दिउँसो, बेलुकी खाना खानुपर्छ भने आफूले काम गर्न पनि अनिवार्य हुन्छ । हाम्रा शरीरका अङ्गहरू काम गर्नका लागि हुन् । काम गर्नमा हिच्किच् गर्नु भनेको आफैलाई ठग्नु हो । आफ्नै अङ्गहरूको सदुपयोग गर्न नसक्नु हो । व्यक्ति एक्लैको प्रयत्नबाट तयार हुन नसक्ने वस्तुहरू प्रयोग गर्नुपर्छ भने आफूले काम नगर्दा अरूको श्रमको सदुपयोग नै हुने हुनाले अनिवार्य श्रम गर्नुपर्छ । आफ्नो योग्यतानुसार काम काम नगर्नु भनेको अरू काम गर्नेहरूलाई धोका दिनु नै हो । किनभने हामी समाजको एउटा सदस्यको रूपमा बाँचिरहेका हुन्छौँ ।
पुँजीवादी व्यवस्था भ्रष्टहरूको व्यवस्था हो भनेर मात्र हाम्रो जिम्मा पूरा हुन्न । हामीले यो व्यवस्थाको अन्त्यका लागि सङ्गठित प्रयत्न गर्न जरुरी छ । अहिले हामी भएको समाजमा सामूहिकताको अभ्यास गर्ने भौतिक परिस्थिति तयार छैन । अहिले हामीले गर्ने भनेको सही राजनीति अवलम्बन पहिलो शर्त हो । सिद्धान्त र व्यवहारलाई एकरूपतामा लैजाने कोसिस गरिरहेको अरूको तुलनामा सही राजनीतिक पार्टी छनौट गर्ने काम गरेपछि हाम्रो परिवारलाई आर्थिक एकाइ मात्र बनाउने कामको सट्टा त्यसलाई राजनीतिक एकाइ बनाउने दोस्रो महत्त्वपूर्ण काम हो ।

राज्यसत्ता मजदुर–किसान र उनीहरूको प्रतिनिधि संस्था कम्युनिस्ट पार्टीले कब्जा गरेपछि जनताको मुक्तिको काम सुरु हुन्छ । तर कम्युनिस्टका कार्यकर्ताका लागि आफ्नो मुक्ति अहिलेदेखि नै ग्रहण गरिसकेको हुनुपर्ने हुन्छ । त्यो भनेको श्रमबजारमा श्रम बेचेर खर्च टार्न अभ्यस्त हुने हो । आफ्नो व्यक्तिगत खर्च टार्न श्रम बेच्ने, श्रमको मूल्य प्राप्त गर्ने र समय बचाएर सामूहिक कामको जिम्मा पूरा गर्ने नै हो । श्रम बेच्न नसक्ने व्यक्तिले कम्युनिस्ट पार्टीको सदस्य भई जिम्मा पूरा गर्न सक्दैन । उदीयमान शक्तिको भूमिका निर्वाह गर्ने भनेको पनि त्यही हो ।
अहिलेको समाजमा मजदुरको सङ्ख्या थोरै छ । भएका मजदुर पनि वर्गसचेत छैनन् । उद्योगधन्दाको सङ्ख्या बढ्दै जाँदा मजदुरको सङ्ख्या पनि बढ्दै जान्छ । मजदुरको वर्गीय चेतना र वर्गीय मुक्तिबारे छलफल हुँदै जान्छ । आफूहरू शोषणमा परेकोबारे उनीहरू सचेत हुने र आपसी सहकार्यद्वारा सङ्गठित हुने काम पनि बढ्दै जान्छ । छिटो छिटो बढ्दै जाने सङ्ख्या र बढ्दै जाने चेतनाका साथै बढ्दै जाने सङ्गठित अभ्यास सबैले राज्यसत्ता विरुद्धको सङ्घर्ष पनि व्यवस्थित हुँदै जान्छ । परिवारमा श्रम विभाजन र आर्थिक एकाइका साथै राजनीतिक एकाइ बनाउने काम पनि बढ्दै जान्छ । यी सबै कारणले मजदुरको राज्यसत्ता कब्जा गर्ने क्षमता आवश्यक रूपमा विकास हुन्छ ।

राज्यसत्ता कब्जा गर्न आन्तरिक र बाह्य परिस्थिति अनुकूल हुँदै जाँदा मजदुरहरू राज्यसत्ता कब्जा गर्न र सञ्चालन गर्नयोग्य हुँदै जान्छन् । आमूल परिवर्तन गरेर राज्यसत्ता कब्जा गर्ने आन्तरिक तयारी भने गर्दै जानुपर्छ । वर्गीय रूपमा सचेत र सङ्गठित हुने काम अहिलेदेखि गर्दै जानुपर्छ ।

राज्यसत्ता कब्जा भएपछि हाम्रा जिम्मेवारी अझ बढी कठिन र गम्भीर किसिमका हुन्छन् । सम्पन्न व्यक्तिहरूको स्वर्ग गुमेपछि उनीहरूले अहिलेभन्दा १० गुना बढी बल गरेर आफ्नो गुमेको स्वर्ग फर्काउन चाहन्छन् । सर्वसाधारण जनताले सत्ता र शक्तिलाई मान्ने हुनाले समर्थन गर्ने छन् । तर उनीहरूमा राजनीतिक चेतना उच्च बनाएर सही र गलत आफै छुट्याउन सक्ने बनाएनौँ भने हामीहरू फेरि प्रतिगमनकारीको फन्दामा परेर उनीहरूलाई सहयोग र समर्थन गरी प्रतिगमनको पक्षमा काम गर्ने सम्भावना हुने छ ।

बहुमत जनताको सहयोग र समर्थन बिना राज्यसत्ता कब्जा गर्ने कुरा मात्र होइन, सञ्चालन गर्ने काम पनि हुन सक्दैन । त्यसकारण हाम्रो जिम्मा भनेको जनताको राजनीतिक चेतनास्तर उच्च बनाउने नै हो । बहुमत सङ्ख्यामा रहेका श्रमजीवी जनता मुट्ठिभर शोषक, सम्पन्नवर्गका व्यक्तिलाई सहयोग र समर्थन गर्ने परम्परावादी चिन्तनबाट मुक्त बनाउने काम पनि क्रान्तिकारीकै हो । राजनीतिक गर्नेहरूको काम जनताको पिछडिएको चेतनाबाट फाइदा उठाउने नभई उनीहरूलाई सचेत र सङ्गठित बनाउने हो ।

विगतका व्यवस्थाहरू जनताको आन्दोलनबाट समाप्त भएको वास्तविकता हामीसँग छ । अब पनि यो भ्रष्ट व्यवस्थामा परिवर्तन गर्न जनता सचेत र आन्दोलित नभइकन सम्भव हुन्न । व्यवस्थामा आमूल परिवर्तन गर्ने काम पनि जनताको आन्दोलनबाट मात्र सम्भव हुन्छ । श्रमजीवी वर्गको राज्यसत्ता सञ्चालन भएको लामो इतिहास हामीसँग छैन । जनताको राज्यसत्ता ४० वर्षसम्म रहेको इतिहास मात्र हामीसँग छ । अब स्थापना गर्ने श्रमजीवी वर्गको राज्यसत्तामा प्रतिगमन हुन नसक्ने गरी तयारी गर्ने र परिपक्व राज्यसत्तामा प्रतिगमन हुन नदिने काम पनि क्रान्तिकारीकै हो । आफू शोषित नभइकन अर्को वर्गका लागि आफूले काम गरिदिएको सोचाइ राजनीतिकर्मीमा भएको कारणले प्रतिगमनमा सहयोग पुगेको छ ।

व्यक्तिगत स्वामित्वमा उत्पादनका साधन स्थापना गरेर बढाउँदै जाने भनेको शोषणलाई बढाउँदै जाने हो । त्यो कामले व्यक्तिलाई शोषक बनाउँदै जान्छ । व्यक्तिले समाजको एउटा सदस्यको हैसियतमा काम गरिरहेको हुन्छ । आफ्नो कामले श्रमजीवी वर्गलाई वा शोषकवर्गलाई सहयोग पु¥याएको छ भन्ने आफै थाहा पाउन सक्ने हुनुपर्छ । आफू शोषित भएर पनि शोषणका लागि सहयोग हुने काम गरेको हुनाले यो शोषणयुक्त व्यवस्थाको आयु लामो भएको हो । आफ्नो वर्गसँग सहकार्य र विरोधी वर्गसँग प्रतिष्पर्धा गरेर काम नगर्दासम्म सही तरिका अगाडि बढ्दैन । श्रमजीवी वर्गमा श्रमजीवी वर्गीय चेतना आफैमा विकास नहुने हुनाले पार्टीका बुद्धिजीवीमार्फत तिनीहरूमा वर्गीय चेतनाको विकास गराउनुपर्ने हुन्छ ।

कम्युनिस्ट पार्टी विश्वदृष्टिकोण विकास गराउने पाठशाला हो । पार्टीको एउटा सदस्यको हैसियतमा सर्वहारा विश्वदृष्टिकोण विकास गराउनुपर्छ । क्रान्तिकारी परिवर्तन कसैको चाहनानुसार सम्पन्न हुने नभई अनुशासित र सङ्गठित रूपमा गरिने वर्गसङ्घर्षबाट मात्र सम्भव हुन्छ ।

समाजवादी समाजका लागि पार्टीसदस्यको भूमिका महत्त्वपूर्ण हुन्छ । किनभने समाजवादी समाजका लागि नागरिक भई जिम्मा पूरा गर्ने अभ्यास गर्नुपर्छ । समाजवादी समाजमा नेताको भन्दा नागरिकको भूमिकाको वर्णन गरिएको पाइन्छ । समाजवादी समाजको नेता भन्ने कतै पाइन्न । जतासुकै नागरिक भन्ने वर्णन गरिएको पाइन्छ । त्यसकारण हामी सबै समाजवादी समाजको नागरिक बन्ने प्रयत्न गर्न अति आवश्यक छ, तब मात्रै वर्गविहीन र शोषणविहीन समाज निर्माणमा योगदान पुग्छ । जहाँसम्म जनताको राज्यसत्ता सर्वहारा मजदुर वर्गको नेतृत्वमा सम्पन्न हुने कुरा छ, त्यो सत्तापक्ष, प्रतिपक्ष, सर्वहारा मजदुर वर्ग, सामन्त र पुँजीपति वर्ग, राष्ट्रिय र अन्तर्राष्ट्रिय आदि विभिन्न पक्षको गतिविधिमाथि निर्भर गर्छ । क्रान्तिका लागि परिस्थिति एकदुई वर्षभित्रै पनि परिपक्व हुन सक्छ र एकदुई सय वर्ष पनि लाग्न सक्छ । क्रान्तिकारीको काम क्रान्तिका आवश्यक सर्त पूरा गर्दै अगाडि बढ्ने हो । जनतालाई सचेत र सङ्गठित पार्दै जाने हो । आफ्नो योगदान थप्दै जाने हो ।

Check Also

सबैभन्दा बढी मतदाता बागमती प्रदेशमा, कम कर्णालीमा

स्थानीय तह सदस्य निर्वाचन २०७९ मा सबैभन्दा बढी मतदाता बागमती प्रदेशमा र सबैभन्दा कम कर्णाली ...

Comments are closed.