ताजा समाचार
Home / Headline / धमाधम घोषणा हुँदै लाभांश, अहिलेसम्म कुन–कुनले कति गरे प्रस्ताव ?

धमाधम घोषणा हुँदै लाभांश, अहिलेसम्म कुन–कुनले कति गरे प्रस्ताव ?

 नेप्सेमा सूचीकृत ३० कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गर्ने अधिकांश कम्पनीहरुले अघिल्लो वर्षको भन्दा लाभांशदर घटाएका छन् । अघिल्लो वर्षको तुलनामा सूचीकृत कम्पनीहरुको नाफा दर बढे पनि उनीहरुले प्रतिफल दर भने घटाएका हुन् । तरलता संकटको कारण ब्याजदर बढेको छ । बढ्दो ब्याजदरप्रति उद्योगी व्यवसायीहरु रुष्ट बन्दै आएका छन् । केन्द्रीय बैंकले पनि जोखिम व्यवस्थापनमा कडाई गर्दै आएको छ ।

नियामकीय प्रावधानअनुसार बैंकहरुको पुँजी कोष ११% र प्राथमिक पुँजी कोष कम्तिमा पनि साढे ८.५०% हुनुपर्छ । न्यूनतम पुँजी कोष कायम नभए राष्ट्र बैंकले त्यस्ता वित्तीय संस्थालाई लाभांश बाँड्न रोक लगाउँछ । पुँजी कोषलाई माथि लैजान बैंकहरुले सञ्चिति मुनाफा बढाउनुपर्नेछ । उक्त पुँजी कोष कायम गर्न बैंकहरुले लाभांश दर घटाएको जानाकारहरुले बताएका छन् । अब हेरौं, हलसम्म कुन कम्पनीले कति लाभांश घोषणा गरे ?

६ वाणिज्य बैंकको लाभांश घोषणा

हालसम्म ६ वटा वाणिज्य बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गर्नेमध्ये सिटिजन्स बैंकले साधारण सभा सम्पन्न गरिसकेको छ भने दुई वटा बैंकले साधारण सभा र बुक क्लोज मिति तय गरिसकेका छन् । दुई बैंकको भने साधारण सभा र बुक क्जोज मिति तय हुन बाँकी छ । ४ वटा बैंकको लाभांश दर गत वर्षको तुलनामा यस वर्ष बढेको छ । तथापि, यो वर्ष बैंकहरुले नगद लाभांशको दर बढाएका हुन् । दुई बैंकको भने लाभांश दर गत वर्षको तुलनामा घटेको छ । 

३ जलविद्युत् कम्पनीको लाभांश घोषणा

हालसम्म ३ जलविद्युत् कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गर्ने २ कम्पनीले बुक क्लोज गरेर साधारण सभा नै सम्पन्न गरिसकेका छन् । अरुण काबेलीको पनि बुक क्लोज र साधारण सभा मिति तय भएको छ । २ वटा कम्पनीको लाभांश गत वर्षको तुलनामा घटेको छ भने रु रु जलविद्युत्ले गत वर्षकै लाभांशलाई निरन्तरता दिएको छ । 

होटल तथा टुरिजम समूहअन्तर्गत सोल्टी होटलको लाभांश घोषणा

होटल तथा टुरिजम समूहअन्तर्गत सोल्टी होटलले मात्रै लाभांश घोषणा गरेको छ । यसले गत वर्षको नाफाबाट २१.३१% नगद लाभांश र ५% बोनस सेयर गरी कुल २६.३१% लाभांश घोषणा गरेको छ । यो होटलले पुस २८ गते वार्षिक साधारण सभा पनि बोलाएको छ । सोल्टीले साधारण सभा प्रयोजनाका लागि पुस ७ गते बुक क्लोज गर्ने जानकारी गराएको छ । विगत २ वर्षदेखि यसले लगानीकर्तालाई कुनै लाभांश दिएको थिएन । 

इन्भेष्टमेन्ट समूहअन्तर्गत निफ्राले घोषणा गर्यो लाभांश

इन्भेष्टमेन्ट समूहअन्तर्गत नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले गत अर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । यसले गत वर्षको नाफाबाट करसहित ४.२१% नगद लाभांश दिने घोषणा गरेको हो । यसले मंसिर १ गते बुक क्लोज गर्दैछ भने मंसिर १० गते साधारण सभा डाकेको छ । अघिल्लो वर्ष यसले ८% बोनस सेयर र कर प्रयोजनका लागि ०.५% नगद लाभांश दिएको थियो । 

उत्पादन तथा प्रशोधन समूहअन्तर्गत ३ कम्पनीको लाभांश प्रस्ताव

उत्पादन तथा प्रशोधन समूहअन्तर्गत ३ कम्पनीको लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गर्ने मध्ये नेपाल ल्यूब आयलले बुक क्लोज गरेर साधारण सभा पनि सम्पन्न गरिसकेको छ । त्यस्तै, बोटलर्स नेपाल तराई र बालाजुको भने साधारण सभा र बुक क्लोजको मिति तय हुन बाँकी रहेको छ । यी दुवै कम्पनीले गत वर्षको नाफाबाट लगानीकर्तालाई नगद लाभांश घोषणा गरेका छन् । 

म्युचुअल फन्डहरुको लाभांश दर घट्यो

हालसम्म १५ म्युचुअल फन्डहरुले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गर्ने मध्ये अधिकांश फन्डहरुको लाभांश दर गत वर्षको तुलनामा घटेको छ । सबैभन्दा धेरै लाभांश दिनेमा सानिमा इक्वुटी फन्ड रहेको छ । यसले गत वर्षको मुनाफाबाट इकाइधनीलाई २२% लाभांश दिएको छ । लाभांश घोषणा गर्ने मध्ये १३ फन्डले बुक क्लोज गरेर लगानीकर्ताको खातामा लाभांश पनि पठाइसकेका छन् । २ फन्डको भने बुक क्लोज हुन बाँकी रहेको छ । 

निर्जीवन बिमा कम्पनीअन्तर्गत नेपाल इन्सुरेन्सको मात्रै लाभांश प्रस्ताव 

निर्जीवन बिमा समूहअन्तर्गत नेपाल इन्सुरेन्सले मात्रै लाभांश घोषणा गरेको छ । यसले गत आर्थिक वर्षको नाफाबाट ८% बोनस सेयर र कर तिर्नका लागि ०.४२% नगद गरी कुल ८.४२% दिने घोषणा गरेको छ । तथापि, यसको बुक क्लोज र साधारण सभा मिति भने तय हुन बाँकी छ ।

अघिल्लो वर्ष यसले ११% बोनस सेयर र कर प्रयोजनका लागि ०.५८% नगद लाभांश गरि कुल ११.५८% दिएको थियो । हालसम्म कुनै पनि विकास बैंक र फाइनान्स कम्पनीहरुले गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेका छैनन् । त्यस्तै, कुनै पनि माइक्रोफाइनान्स, जीवन बिमा कम्पनीले लाभांश प्रस्ताव गरेका छैनन् ।

Check Also

क्यान्सर विजेताहरुको तेस्रो ‘र्‍याम्प वाक’ पोखरामा हुँदै

क्यान्सर विजेताहरुको तेस्रो र्‍याम्प वाक पोखरामा हुने भएको छ । नेपाल क्यान्सर सपोर्ट ग्रुप र ...

Comments are closed.