ताजा समाचार
Home / अर्थ / लघुवित्तको कस्ट अफ फन्ड ११.८१ प्रतिशत पुग्यो, सबैभन्दा सस्तो लागतमा साना किसानले उठाउँछ फन्ड

लघुवित्तको कस्ट अफ फन्ड ११.८१ प्रतिशत पुग्यो, सबैभन्दा सस्तो लागतमा साना किसानले उठाउँछ फन्ड

वाणिज्य बैंकहरुले मुद्दती निक्षेपमा दिने व्याज दर वृद्धि गरेसँगै बैंकहरुको निक्षेप लागतमा वृद्धि भएको छ । वाणिज्य बैंकहरुबाटै ऋण लिएर लगानी गर्ने लघुवित्त संस्थाहरुको कस्ट अफ फन्ड पनि सोही अनुपातमा विस्तारै बढ्दै गएको छ ।

पहिलो त्रैमासिकमा औसत निक्षेप संकलन लागत ७.११ प्रतिशत रहेको लघुवित्तको दोस्रो त्रैमासिकसम्म पुग्दा ८.२१ प्रतिशत पुगेको छ । दोस्रो त्रैमासिकसम्म आइपुग्दा पहिलो त्रैमासिकको तुलनामा लघुवित्त संस्थाहरुको कस्ट अफ फन्ड १.१० प्रतिशतले बढेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा लघुवित्तहरुले ९.८३ प्रतिशतसम्म लागत परेको वित्तीय विवरण प्रकाशित गरेका थिए । यद्यपि सस्तोमा उठाउनेले ३.२७ प्रतिशत हाराहारी मात्र लागत पुगेका लघुवित्त पनि छन् ।

वाणिज्य बैंकहरुले आफ्नो कुल कर्जाको ५ प्रतिशत विपन्न वर्ग कर्जाको रुपमा प्रवाह गर्नुपर्छ । उक्त कर्जा बैंकहरुले आफैले वा लघुवित्तमार्फत प्रवाह गर्छ । बैंकहरुमा तरलता फालाफाल हुँदा लघुवित्तले पनि सस्तो दरमा कर्जा पाएका थिए भने बैंकमा विस्तारै तरलता टाइट हुँदै जाँदा लघुवित्तले पाउने रकम पनि महंगो हुँदै गएको छ । विशेषगरी वाणिज्य बैंकहरुले कर्जा दिँदा बेस रेट अनुसार दिने गर्दछ । बेस रेटमा केही प्रतिशत प्रिमियम जोडेर बैंकहरुले लघुवित्तलाई प्रदान गर्ने गर्दछ । फागुनमा बैंकहरुले मुद्दती निक्षेपमै ११.०५ व्याज दिन थालेपछि बैंकहरुले विस्तारै लघुवित्तलाई पनि महंगोमै कर्जा दिन थालेको छ । नेपाल लघुवित्त वित्त कम्पनी संघका अध्यक्ष एवम् लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रकाशराज शर्माले बैंकहरुले आफ्नो बेसरेटमा ६ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जा दिँदा लघुवित्तले लिने कर्जाको व्याज दर नै अधिकतम १५ प्रतिशतसम्म पुगेको बताए । लघुवित्तले ऋणीलाई कर्जा दिँदा पनि १५ प्रतिशतभन्दा बढी कर्जामा व्याज लिन पाउँदैन ।

लघुवित्त वित्तीय संस्थाले प्रकाशित गरेको दोस्रो त्रैमासिकसम्मको वित्तीय विवरण अनुसार नै केही लघुवित्तको कस्ट अफ फन्ड ११ प्रतिशत पुगिसकेको थियो । पुससम्मको आधारमा तयार पारिएको वित्तीय विवरण अनुसार समिट लघुवित्त, महिला लघुवित्त र विन नेपाल लघुवित्त वित्तीय सस्थाको कस्ट अफ फन्ड ११ प्रतिशतभन्दा बढी देखिएको छ । सबैभन्दा बढी विन नेपाल लघुवित्त वित्तीय संंस्थाको कस्ट अफ फन्ड ११.८१ प्रतिशत देखिएको छ । दोस्रो त्रैमासिकमा पनि साना किसान लघुवित्त वित्तीय संस्थाको कस्ट अफ फन्ड सबैभन्दा कम ३.३८ प्रतिशत मात्रै देखिएको छ ।

चालु आर्थिक वर्षको शुरुवातसँगै बैकिङ प्रणालीमा तरलताको अभाव शुरु भएको हो । कोरोना महामारीको प्रभाव कम हुँदै जाँदा विस्तारै आफ्नो व्यापार व्यवसायमा फर्किदा कर्जाको माग अत्यधिक हुन थालेको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् । राष्ट्र बैंकको तथ्यांक अनुसार गएको पुस महिनासम्म वाणिज्य बैंकको कर्जा विस्तार २८ प्रतिशतले भएको छ । निक्षेप विस्तारको तुलनामा अत्यधिक कर्जा विस्तार हुँदा लगानीयोग्य पुँजीको विस्तारै अभाव हुन थालेको हो । लगानी योग्य पुँजीको अभावकै कारण लघुवित्तले बैंकमार्फत पाउने रकमको लागत पनि बढ्न गएको हो । गत तीन महिनाको तथ्यांक अध्ययन गर्दा पहिलो त्रैमासिकसँग तुलना गर्दा दोस्रो त्रैमासिकमा लघुवित्त कम्पनीहरुको कस्ट अफ फन्ड १.१० प्रतिशतले बढेको छ । गत आवको चौथो त्रैमासिकमा भने लघुवित्तहरुले सस्तो लागतमा पैसाको उपभोग गर्न पाएका थिए जसका कारण चौथो त्रैमासिकमा अधिकांश लघुवित्तको नाफामा वृद्धि भएको हो ।

कोरोनाकालमा कतिपय लघुवित्त कम्पनीले बैंकले जति लागतमा फन्ड उठाएका थिए, त्यही लागतमा समेत कर्जा पाएका थिए । त्यसकारण लघुवित्तको नाफामा ठूलो छलाङ मारेको ब्यालेन्स सिट प्रकाशित गरेका थिए । चालु आवमा चुलिँदो तरलताको अभावको असर लघुवित्त कम्पनीको कस्ट अफ फन्डमा विस्तारै पर्न थालेको बताउँदै उनले अर्को त्रैमासिकमा झन डरलाग्दो गरी असर देखिने एक लघुवित्तका प्रमुख कार्यकारीले बताए । राष्ट्र बैंकले लघुवित्तको माथिल्लो सिलिङमा पुनरावलोकन नगर्ने हो भने अधिकांश लघुवित्तले घाटाको ब्यालेन्स सिट प्रकाशित गर्ने ठोकुवा गरे ।

तरलता सहज भएको बेला वाणिज्य बैंकहरुको वचतमा व्याज १ देखि २ प्रतिशतको हाराहारीमा मात्र थियो भने अहिले वचतको व्याज नै ८ प्रतिशतको हाराहारीमा छ भने मुद्दतीको व्याज ११.०५ प्रतिशत छ । बैंकहरुको निक्षेप संकलन लागत नै बढेकाले आगामी दिनमा लघुवित्तले पाउने लागत पनि बढ्ने निश्चित छ । जतिसुकै बढी दरमा बैंकबाट उठाए पनि लघुवित्तले अन्तिम ऋणीबाट १५ प्रतिशतभन्दा बढी व्याज दर असुल गर्न नपाउने नियामकीय प्रावधान छ । गत वर्ष भन्दा बढ्दो दरमा रकम उठाउने तर ग्राहकसँग उठाउने व्याज दर भने निश्चित भइदिँदा आगामी दिनमा लघुवित्तको नाफामा संकुचन आउने छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासिक र दोस्रो त्रैमासिकको तुलना गर्दा फराकिलो दरले कस्ट अफ फन्ड वृद्धि हुने कम्पनीको पहिलो नम्बरमा समिट लघुवित्त वित्तीय सस्था रहेको छ । कम्पनीको लागत पहिलो त्रैमासिकको तुलनामा ३.९९ प्रतिशतले बढेको छ । त्यसैगरी महिला लघुवित्त वित्तीय संस्थाको लागत २.८७ प्रतिशतले बढेको छ । महिला लघुवित्त वित्तीय संंस्थाले गत आवको नाफाबाट ४७.५ प्रतिशत बोनस शेयर वितरण गरे पनि कम्पनीले प्रति शेयर आम्दानी १ सय रुपियाँ भन्दा माथि कायम राख्न सफल भएका थिए ।

पहिलो त्रैमासिकको तुलनामा अधिकांश लघुवित्तको कस्ट अफ फन्ड बढेको देखिए पनि समता लघुवित्त, सुर्योदय लघुवित्त, युनिक नेपाल लघुवित्त, मिथिला लघुवित्त, छिमेक लघुवित्त र फवार्ड लघुवित्तको कस्ट अफ फन्ड भने पहिलो त्रैमासको तुलनामा दोस्रो त्रैमासिकमा झिनो अंकले घटेको देखिएको छ । वाणिज्य बैंकसँग कर्जाको साथमा आफ्नै ग्राहकबाट निक्षेप परिचालन गर्ने लघुवित्तको कस्ट अफ फन्ड भने तुलनात्मक रुपमा सस्तो देखिएको छ । त्यस्ता लघुवित्त कम्पनीहरुलाई अहिलेको लगानीयोग्य रकमको अभावले खासै छोएको नदेखिएको लघुवित्त संघका पूर्व अध्यक्ष वसन्त लम्सालले बताए ।

Check Also

इष्टर्न हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम मौका 

इष्टर्न हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले पहिलो चरणमा ...

Comments are closed.