ताजा समाचार
Home / मनोरञ्जन / रूस–युक्रेन संकट : धमाधम युरोप छिर्दै नेपाली

रूस–युक्रेन संकट : धमाधम युरोप छिर्दै नेपाली

२७ फागुन, बार्सिलोना । काभ्रेपलान्चोक, बनेपा नगरपालिका–१४ का विवेक बस्नेत युक्रेन आएको ६ महिना पुग्दै थियो । युक्रेन आउन उनले १०–१२ लाख रुपैयाँ एजेन्टलाई बुझाएका थिए । विद्यार्थीको रूपमा आए पनि उनको उद्देश्य अर्कै थियो । युरोप छिर्ने, कार्ड बनाउने र यतै ‘सेटल’ हुने ।

उनी युक्रेन छिरेको ६ महिना नबित्दै रूस–युक्रेन तनाव उत्कर्षमा पुग्यो । ‘भाग्यले बाँचियो, धेरै दुःख पनि पाइयो । मरिन्छ कि बाँचिन्छ ठेगान नै थिएन’ उनले भने, ‘बम र बारुदको आवाजले बेला बेला त जीवन अब यत्ति नै रहेछ भन्ने पनि लाग्थ्यो ।’

डर र त्रासदीको जस्तोसुकै सास्ती खेप्नु परे पनि उनी अहिले आफैंले चाहेको गन्तव्य मुलुक पोर्चुगल पुगिसकेका छन् । त्यहाँ बसेर ‘रेसिडेन्सी कार्ड’ बनाउने र भविष्य सुनिश्चित गर्ने उनको सपना छ ।

युक्रेनको बोर्डर हुँदै २०७८ फागुन दोस्रो साता उनी पोल्याण्ड पुगे । त्यहाँ एकदिन मात्रै बसे । उनको उद्देश्य जीवन जोगाउनु मात्रै थिएन भविष्य पनि जोगाउनु थियो । उनले जर्मनी, फ्रान्स, स्पेन हुँदै पोर्चुगलको यात्रा गरे । ‘युक्रेन बसेको डकुमेन्ट देखाएपछि हामीलाई केही समस्या परेन’ उनी भन्छन्, ‘रेल यात्रामा पनि सम्बन्धित देशका अधिकारीहरूले सहयोग गरे ।’

‘यथार्थमा यो युद्धले मलगायत युक्रेन छिरेका सयौं विद्यार्थीलाई नेगेटिभ/पोजेटिभ दुवै असर गरेको छ’ बस्नेतले आफ्नो उद्देश्य नलुकाई भने, ‘एकथरी रूपमा हेर्दा छिट्टै र सजिलै युरोप छिर्न पाइयो, अर्कोथरी रूपमा हेर्दा ज्यानको भर थिएन, भाग्यले बाँचियो ।’

पोर्चुगल छिरेका विवेक एक्ला पात्र होइनन् । शुक्रबार राति स्पेनको राजधानीस्थित एक रेल्वे स्टेशनमा उनीसँगै ३७ जनाको समूह थियो । जहाँ ६ महिलासहित १३ नेपाली सँगै थिए । बाँकी भारतीय विद्यार्थी रहेको उनले अनलाइनखबरलाई बताए । एनआरएनए स्पेन र रेल्वे स्टेशनका कर्मचारीहरूको सहयोगमा उनीहरूलाई खाना खुवाइएको थियो ।

‘पोल्याण्डदेखि जर्मनीको बर्लिन हुँदै फ्रान्सको पेरिस पुग्यौं । पेरिसमा आएर एक रात बस्यौं । त्यहाँ हामीले खासै कसैलाई भेटेनौं’ उनले भने, ‘पेरिसदेखि स्पेनको बार्सिलोनाको टिकट लिएर आयौं । बार्सिलोनादेखि स्पेनको राजधानी म्याड्रिड हुँदै पोर्चुगल आइपुगेका हौं ।’

युक्रेनमा पढ्ने उद्देश्यले गएका र युद्धमा ज्यान जोगाउन युरोप छिरेकाहरूको कुरै अर्कै छ । रामेछापको गोकुलगंगा गाउँपालिका–४ बेतालीकी ज्योति कार्की पनि पोल्याण्ड छोडेर अहिले जर्मनी पुगिसकेकी छिन् । उनी अहिले आफन्तसँगै जर्मनीमा छिन् । ‘दाइ लिन आउनुभएको थियो । त्यसैले जर्मनी आइपुगें । यहाँ नै कलेज ट्रान्सफर गरेर पढ्न मिलेमा बसेर पढ्छु । हैन भने त नेपाल नै फर्कन्छु’, कार्कीले भनिन् । आफू युरोप छिर्न नभएर अध्ययनकै लागि युक्रेन पुगेको उनले सुनाइन् ।

तर, विद्यार्थीको रूपमा युक्रेन आउनेहरूको संख्या सयौं रहेको उनको भनाइ छ । ‘युक्रेनबाट आएका नेपालीले पोल्याण्ड छोड्ने क्रम बढिरहेको छ । सबैले आ–आफ्नो बारेमा सोचिसक्नुभएको छ’, कार्कीले भनिन् । उनका भनाइमा पोर्चुगललाई गन्तव्य बनाउने नेपाली पोल्याण्ड छोडेर हिंडिसकेका छन् ।

पोल्याण्ड बोर्डरमा आएका नेपालीहरु

नुवाकोट किस्पाङ गाउँपालिका–२ का प्रशान्त तामाङको युक्रेन भोगाइ नमिठो छ । उनी ८ लाख रुपैयाँ खर्च गरेर ६ महिना पहिले युक्रेन आएका थिए । उनले स्टोनियाका लागि भिजिट भिसाको पनि आवेदन थिएका थिए ।

‘१० दिनलाई ‘सेन्जेन कन्ट्री’ (युरोपका देशहरू) को लागि भिजिट भिसा लागेको थियो । मैले त्यसका लागि झन्डै ५ हजार युरो खर्च गरें । तर मेरो खर्च बेकार भयो’ उनले थपे, ‘मलाई ठूलो नोक्सान भयो । तपाईं आफैं हेर्नु न, जस्तै मान्छे पनि अहिले ‘सेन्जेन कन्ट्री’ छिरेको छ । मेरो त रकम पनि खर्च भयो । दुःख पनि त्यस्तै भयो ।’

भिजिट भिसा एप्लाई गर्दा इन्भिटेसन पठाइदिने र युक्रेनमा ग्यारेन्टी बसिदिने मान्छे महत्वपूर्ण रहेको भन्दै उनले भने, ‘मैले यी दुवै पक्षलाई चिन्दिनँ । मलाई भिसासँग मात्र सरोकार थियो । यसैका लागि ठूलो खर्च गर्नु परेको हो ।’

स्टोनियाबाट १० दिनको सेन्जेन भिसा प्राप्त गरेको उनी बताउँछन् । ‘फेब्रुअरी २३ मा भिसा रिसिभ गरें । २४ मा नै पहिलो ब्लाष्ट भयो । त्यसपछि भागदौड मच्चियो’ उनले भने, ‘व्यर्थमा पैसा खर्च भयो । अहिले सबै जना त्यसै सेन्जेन छिरिरहेका छन् ।’

हवाई मार्ग बन्द भएपछि उनी पनि अन्य साथीहरूसँगै राजधानी किएभ छोडेर पोल्याण्डको बोर्डरतर्फ लागेका थिए ।

‘भिसा लागेर खर्च भए अनुसार फ्लाइटबाट उड्न पाएको भए पनि हुन्थ्यो । खल्तीमा सेन्जेनको भिसा छ । तीन–तीन दिनसम्म न खाना छ, न पानी, न सुत्न नै ।’ दुःख सुनाउँदै उनले भने, ‘युक्रेनसम्म आउन ८ लाख खर्च भएको थियो तर सेन्जेन भिसाका लागि थप ७ लाख रुपैयाँ खर्च भयो । १५ लाख रुपैयाँको भारी बोकिएको छ ।’

अब युद्ध रोकियो भने नेपालबाट युक्रेनको सपना देखाउँदै एजेन्टहरू सलबलाउने प्रशान्तको आशंका छ । ‘हेर्दै जानुहोस् युक्रेनदेखि विना डकुमेन्ट ‘सेञ्जेन कन्ट्री छिर्न पाइन्छ भन्दै एजेन्टहरूले नयाँ खेल सुरु गर्नेछन्’ उनले भने, ‘सचेतनाका लागि मैले आफ्नो यथार्थ बताएको हुँ, सबै जना सचेत रहनुहोला ।’

वास्तविक विद्यार्थीको बिचल्ली

सप्तरी राजविराज मूल घर भएका राकेश चौरसिया तीन वर्षअघि युक्रेन आएका थिए । उनी भने सेन्जेनलाई लक्ष्य बनाएर आएका नक्कली विद्यार्थी होइनन् । चिकित्सा शिक्षा अध्ययनका लागि युक्रेन पुगेका उनले ६ वर्षमा पूरा हुने कोर्स आधा मात्रै पूरा गर्न पाएका छन् । पोल्याण्डको वार्सामा रहेका उनले अनलाइनखबरलाई भने, ‘एमबीबीएस अध्ययन गर्न युक्रेन आएको । थर्ड इयरको सेकेण्ड सेमेष्टर गर्दै थिएँ । बीचैमा यस्तो हुनपुग्यो ।’

एनआरएनए पोल्याण्डले उपलब्ध गराएको होस्टलमा बसिरहेका उनलाई युरोपमा बसेर कार्ड बनाउनु छैन । उनको चिन्ता आफ्नो अध्ययन पूरा गर्र्नुछ । अध्ययनका लागि उनले हालसम्म २५ लाख रुपैयाँभन्दा बढी खर्च गरिसकेका छन् । जहाँ अध्ययन रोकिएको छ त्यहींबाट पूरा गर्न युरोपका देशहरूमा उनले विकल्प खोजिरहेका छन् ।

उनले भने ‘पोल्याण्ड, जर्मनी होस् वा स्विट्जरल्याण्ड जहाँबाट भए पनि रोकिएको अध्ययन पूरा गर्नुपर्नेछ । पुनः त्यहींबाट नै कसरी अध्ययनलाई निरन्तरता दिन सकिन्छ भनेर सोचिरहेको छु । नत्र भने त तीन वर्षको मिहिनेत र पैसा त्यसै खेर जान्छ ।’

तत्काल नेपाल फर्कन सक्ने अवस्था नरहेको भन्दै उनले भने, ‘आमा–बालाई कसरी मुख देखाउने । लाखौं रकम खर्च भइसकेको छ । आफैंलाई नराम्रो लाग्छ ।’ अमेरिकामा रहेकी दिदीको सहयोगमा आफूले अध्ययन गरिरहेको पनि उनले सुनाए ।

‘काम गर्न सम्भव नै थिएन । बिहान छिरेर बेलुका निस्कन्थ्यौं । अहिलेसम्म लाखौं रकम लगानी भएको छ । समय र पैसाको बर्बादी नहोस् भनेर प्रार्थना गरिरहेको छु’, उनले भने ।

युक्रेनमा आफू जस्तै विद्यार्थी दुई–तीन जना मात्र भएको उनले बताए । ‘एक जना एमबीबीएस सेकेन्ड सेमेष्टरको विद्यार्थी हुनुहुन्थ्यो । उहाँ नेपाल पुगिसक्नुभयो । एकजना नर्सको कोर्स गरिरहनुभएको बहिनी मसँगै हुनुहुन्छ ।’

पोल्याण्ड र स्लोभाकियाको बाटो

युक्रेन–रसिया द्वन्द्वले त्यहाँस्थित नेपाली व्यवसायीलाई झन् नराम्रोसँग प्रभाव पारेको छ । एनआरएनए युक्रेनका अध्यक्ष हरि मल्ल युक्रेन निवासी व्यवसायी हुन् । उनले त्यहाँ ३९ वर्ष बिताए । उनी यसै साता टर्की आइपुगेका छन् । अनलाइनखबरसँग कुराकानी गर्दै मल्लले भने, ‘ज्यान जस्तो ठूलो कुरा केही पनि रहेनछ । मनमा त धेरै दुःख छ, तर के गर्ने ?’

उनी सन् १९९० देखि नै व्यवसायमा आबद्ध छन् । एनआरएन संस्थापक अध्यक्ष उपेन्द्र महतोसँग पुल्चोक क्याम्पसमा सँगै पढेका मल्ल एनआरएन अभियानमा सक्रिय छन् ।

‘युक्रेनमा मेरो चियाको फ्याक्ट्री छ । त्यहाँ लोकल मान्छेहरू पनि काम गर्थे । ६१ वर्ष उमेर पुगिसक्यो । फेरि नयाँ शिराबाट कसरी सुरु गर्ने ?’ मल्लले प्रश्न गरे । टर्कीमा रहेका आफ्ना व्यावसायिक साथीहरूले बोलाएकाले त्यहाँ पुगेको उनको भनाइ थियो । अवस्था सामान्य नभएसम्म युक्रेन नफर्कने उनको योजना छ । न्यून संख्यामा नेपाली अझै युक्रेनमा रहेको मल्ल बताउँछन् ।

दुईसाता यता पोल्याण्डमा नेपालीको ठूलो संख्या प्रवेश गरेपछि एनआरएन पोल्याण्डले सहयोग गरिरहेको छ । तर पोल्याण्डको चाप घट्दै अहिले पोर्चुगलमा चाप बढ्ने क्रम सुरु भएको छ । पोल्याण्डमा छिरेका नेपालीको ठूलो संख्या पोर्चुगलतर्फ लागिसकेको एनआरएनए पोल्याण्डका अध्यक्ष जीवन केसीले बताए ।

‘हाम्रो सम्पर्कमा लगभग १०० जना मात्रै हुनुहुन्छ । धेरैजसो पोर्चुगलतिर लाग्नुभयो । सायद यो हप्ताभित्र सबै आफ्नो गन्तव्यमा पुग्नुहुनेछ’, उनले भने ।

बर्लिनस्थित नेपाली राजदूतावासका अनुसार हालसम्म युक्रेनबाट ५३६ जना नेपाली सीमावर्ती मुलुकमा पुगेका छन् । तीमध्ये पोल्यान्डमा ४२७, स्लोभाकियामा ७१, रोमानियामा २७, हंगेरीमा ७ तथा मोल्दोभामा ४ जना प्रवेश गरेका थिए ।

पोर्चुगल बाहेक कतिपय युवा फ्रान्स पुगेको अध्यक्ष केसीले जानकारी थिए । ‘कतिपय जर्मनीतर्फ पनि जानुभएको छ । जताजता आफन्त छन् त्यतै लाग्नुभएको छ । तर धेरैको अन्तिम गन्तव्य पोर्चुगल नै हो’, उनले भने ।

पोल्याण्डदेखि नेपाल फर्कन कसैले पनि अनुरोध नगरेको केसीले बताए । केसीले भने ‘जति दुःख उहाँहरूले युक्रेनमा नै भोग्नुभयो । यता हामीले रिसिभ गरेपछि त खुसी हुनुहुन्थ्यो । उहाँहरू खुसीका साथ आफ्नै गन्तव्यमा गइरहनुभएको छ ।’

अध्यक्ष केसीका अनुसार अहिलेसम्म एनआरएनए पोल्याण्डले युक्रेनबाट आएका नेपालीलाई खान–बस्नका लागि झन्डै ९ हजार युरो खर्च गरिसकेको छ । ‘तर यो नै यकिन विवरण होइन । हामी पारदर्शी रूपमा सबै खर्च सार्वजनिक गर्छौं’ उनले भने, ‘एनआरएनए केन्द्रमा पदका लागि ठूलो लडाइँ छ । नेपालीको यो अवस्थाबारे कसैले पनि चासो दिएको देखिएन ।’

पोल्याण्डपछि धेरै नेपाली प्रवेश गरेको अर्को मुलुक स्लोभाकिया हो । राजधानी ब्रातिस्लाभामा ‘नेपाल रेस्टुरेन्ट’लाई उद्धार केन्द्र बनाएका जयप्रसाद शिवाकोटीले थाकेर आएका नेपालीको थकान मेटाउने बिस्ताराहरू बनाएका थिए । तर उनी पनि यतिबेला निराश छन् । भरिभराउ लाग्ने ‘उद्धार केन्द्र’ बनेको उनको रेस्टुराँ यतिबेला सुनसान छ । ‘हिजो धेरै नेपालीलाई बिदा गरेपछि रेस्टुराँ जानै मन लागेन । नमज्जा लाग्दोरहेछ’, उनले भने ।

उनको उद्धार केन्द्रबाट हिंडेका नेपाली नेपाल फर्किएका होइनन्, उनीहरू प्रायः सबै पोर्चुगल छिरिसकेका छन् । ‘हाम्रो रेस्क्यू सेन्टरमा आएका कोही पनि नेपाल जानुभएको छैन । यहाँ आउनेहरूको गन्तव्य पोर्चुगल नै थियो’, उनले भने ।

‘नेपालीमा युद्धको त्रास मेटियोस् भन्ने मेरो उद्देश्य हो’ शिवाकोटीले भने, ‘त्यसपछिको बाँकी निर्णय त उहाँहरूकै हो ।’ नेपालीको बिदाइमा शिवाकोटी निकै भावुक थिए । त्यो क्षणलाई फेसबुकमा पोष्ट गर्दै उनले लेखे, ‘हरेक पाइलाहरूले सही गन्तव्य चुमुन् । हेर्दाहेर्दै क्षितिजमा हराउने ए यात्रीहरू हो, जिन्दगीमा फेरि भेट भएछ भने, पत्याउँला पृथ्वी गोलो नै रहेछ भनेर ।’

पहिलो लहरमा विद्यार्थीको चाप भए पनि युक्रेनमा स्थायी रूपमा बस्ने नेपाली पनि दोस्रो लहरमा आउन सक्ने उनको अनुमान छ । उनले त्यस अनुसार तयारी पनि गरेका छन् । ‘स्लोभाकियामा नेपाली कम छन् । मलाई नेपाली भनेपछि छुट्टै माया लाग्छ । माइती जस्तै प्यारो लाग्छ’ शिवाकोटी भन्छन्, ‘मैले दुई हप्तामा धेरैको माया पाएको छु ।’

पोर्चुगल सरकारले युक्रेनी नागरिकलाई चाहिं अस्थायी रूपमा बसोबाससहित रोजगारीको सुविधा दिने भएको छ । पोर्चुगल आएका युर्केनी बाहेकका अन्य विदेशी नागरिकहरुलाई  शरणार्थी सम्बन्धी आवेदन दिन पाउने निर्णय पोर्चुगल सरकारले गरेको छ ।

आप्रवासीहरूको हितमा खोलिएको संस्था ‘नियाल्प पोर्चुगल’ का निर्देशक कमल भट्टराईले भने,’बिहीबार सरकारले गरेको निर्णयले युक्रेनबाट पोर्चुगल आएका नेपालीहरु पनि लाभान्वित हुनेछन्। तर अस्थायी बसोबासका लागि उनीहरुले शरणार्थी सम्बन्धी आवेदन दिनुपर्नेछ।’

‘टेम्पोररी प्रोटेक्सन एक्ट अनुसार युक्रेनी नागरिक र उनको परिवारलाई एक वर्षको कार्ड ईसु गर्ने नीति ल्याएको छ । युक्रेनबाट नै आएको भए पनि अन्य देशका नागरिकहरूलाई भने यो सुविधा छैन’, उनले भने । तर, यति हुँदाहुँदै पनि द्वन्द्वग्रस्त मुलुक युक्रेनबाट हालै मात्र विभिन्न मुलुक हुँदै झन्डै ५०० को संख्यामा नेपाली पोर्चुगल पुगेको अनुमान छ ।

नेपाली किन पोर्चुगल नै जान्छन् ?

युरोपियन मुलुक पोर्चुगलमा नेपाली युवाको आकर्षण छ । प्रायः सबैको ‘सेन्जेन भिसा’ लगाएर केही दिनका लागि युरोप छिर्ने र यतै बस्ने सोचाइ हुन्छ । युरोपका अरू कतिपय देशमा समस्या पर्यो भने पनि नेपालीहरू पोर्चुगलतिर छिर्ने गरेको पाइन्छ ।

बस्न थालेको वर्ष दिन नबित्दै ‘रेसिडेन्सी कार्ड’ बन्ने हुँदा धेरैको रोजाइमा पोर्चुगल पर्ने गर्छ । माओवादी द्वन्द्वकालमा बेल्जियम, नेदरल्यान्ड, स्विट्जरल्यान्ड जस्ता युरोपियन मुलुकमा जीवन रक्षाका लागि भन्दै शरणार्थी ‘केस’ गरेर, धेरैले नक्कली कागजात पनि बनाएका थिए ।

अहिले नेपालको अवस्था सामान्य भएकोले यसरी नक्कली ‘शरणार्थी’ हुन सजिलो छैन । फेरि कथंकदाचित नक्कली भन्ने थाहा भयो भने ‘डिपोर्ट’ गरेर घर फिर्ता पठाइदिने सम्भावना हुन्छ । यो डरले अहिले धेरैले यतातर्फ चासो देखाएका छैनन् ।

‘कार्ड’ बनाउन सजिलो मुलुकमध्ये स्पेन पनि एक हो । तर, स्पेनमा ‘कार्ड’ बनाउन तीन वर्ष लाग्छ र बनाउने प्रक्रियामा मात्रै करिब १० लाख रुपैयाँसम्म खर्च हुन्छ । त्यसैले पनि धेरैको ध्यान पोर्चुगलतिर हुन्छ ।

लाखौं रकम खर्च गरेर आए पनि पोर्चुगलमा कमाइ भने राम्रो छैन । यहाँ मासिक औसत ७०० युरो कमाइ हुन्छ । अझ त्यो रकमबाट सरकारलाई ११ प्रतिशत कर समेत तिर्नुपर्छ ।

कमाइ कम भए पनि नेपालीले पोर्चुगल रोज्नुको मुख्य कारण डकुमेन्ट छिट्टै बन्नु नै हो । ‘नियाल्प पोर्चुगल’ का निर्देशक कमल भट्टराईका अनुसार, अहिलेसम्म झन्डै ७ हजार नेपालीले पोर्चुगलको राहदानी लिइसकेका छन् ।

‘सन् २०२० को सरकारी तथ्याङ्क हो यो’ भट्टराईले थपे, ‘रोचक के छ भने, पोर्चुगलको पासपोर्ट लिएर पोर्चुगलमै बस्नेको संख्या ५ प्रतिशत पनि छैन । उनीहरू अन्य युरोपियन देशलाई गन्तव्य बनाएर गइसकेका छन् ।’

युरोपियन युनियनबाट बेलायत छुट्टिनुअघि पोर्चुगलको राहदानी लिइसकेका नेपालीको प्रमुख गन्तव्य युके थियो । तर ‘ब्रेक्जिटपछि पोर्चुगलको राहदानी बोक्ने नेपालीको गन्तव्य फेरिएको छ’ भट्टराईले भने, ‘पासपोर्ट लिएको भोलिपल्टैदेखि पोर्चुगल छोड्ने क्रम सुरु हुन्छ । युके जान रोकिएपछि अहिले प्रमुख गन्तव्य बेल्जियम, डेनमार्क, नर्वे र जर्मनी बनेका छन् ।’ त्यति हुँदा पनि अझै पोर्चुगलमा २५ हजार नेपाली रहेको उनको भनाइ छ ।

‘पाँच वर्ष वैधानिक रूपमा बसिसकेपछि पोर्चुगलको राहदानीका लागि आवेदन दिन सकिन्छ । तीन महिनादेखि डेढ वर्षसम्ममा नतिजा आइपुगेका उदाहरण छन्’, भट्टराईले भने । त्यसैले छिटो पासपोर्ट बनाउन र पछि बढी कमाइ हुने मुलुकमा स्थानान्तरण हुने स्वार्थका कारणले युक्रेनबाट भर्खर युरोप छिरेका नेपालीको पनि पहिलो गन्तव्य पोर्चुगल हुने गरेको छ ।

Check Also

बाराक ओबामाले पहिलो सगरमाथा आरोही तेन्जिङ शेर्पाबारे फिल्म बनाउँदै

पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले तेन्जिङ नोर्गे शेर्पामाथि फिल्म ‘तेन्जिङ’ बनाउने भएका छन्। ‘भल्चर’ वेबसाइटका अनुसार ...

Comments are closed.