ताजा समाचार
Home / Headline / कोरोना परीक्षणमा गल्ती दोहोर्‍याउँदै सरकार, पिसिआर छोडेर कम विश्वसनीय रहेको एन्टिजेन परीक्षणमा जोड

कोरोना परीक्षणमा गल्ती दोहोर्‍याउँदै सरकार, पिसिआर छोडेर कम विश्वसनीय रहेको एन्टिजेन परीक्षणमा जोड

नेपालमा पनि दोस्रो लहरको कोरोना भाइरसको संक्रमण बढिरहेका बेला सरकारले भने परीक्षणमा कम विश्वसनीयता भएको एन्टिजेन परीक्षणलाई नै जोड दिएको छ।

विज्ञहरूले संक्रमण पत्ता लगाउन एन्टिजेन परीक्षण उपयुक्त नहुने भनिरहेका बेला सरकारले भने छरितो हुने भन्दै एन्टिजेन परीक्षणलाई नै प्राथमिकतामा राखेको हो।

अहिले काठमाडौं उपत्यका प्रवेश गर्ने र भारतबाट विभिन्न नाकामार्फत् नेपाल आउने मानिसहरूको एन्टिजेन परीक्षण भइरहेको छ। त्यसमा पनि लक्षण भएकाको मात्रै परीक्षण हुने भनिएको छ।

पहिलो त एन्टिजेन परीक्षणले भाइरसको जुन विन्दूलाई समात्नु पर्ने हो त्यो क्षमता नै कम हुने हुँदा यसबाट पोजेटिभ संक्रमण पनि नदेखिने सम्भावना रहेको विज्ञहरूको भनाइ छ।

यसअघि पनि एन्टिजेन परीक्षण सुरु गर्दा विज्ञहरूले तत्काल परीक्षण रोक्न सुझाव दिएका थिए। तर सरकारले पिसिआर परीक्षणमा खर्च बढी भएको उल्लेख गर्दै सस्तो र छरितो हुने भन्दै एन्टिजेन परीक्षणलाई निरन्तरता दिएको थियो।

पछि संक्रमण दर घट्दै जाँदा सर्वसाधारणकाे परीक्षणप्रति रूची घटेपछि सरकारले एन्टिजेन परीक्षणलाई स्थगित गरेको थियो। तर चैत लागेयता संक्रमण दर बढेको भन्दै सरकारले पुनः परीक्षण बढाउने निष्कर्षसहित एन्टिजेन परीक्षण सुचारू गरेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले अहिले भारतबाट भित्रिने सबै नाकाहरूमा एन्टिजेन परीक्षणका लागि आवश्यक सामाग्री पठाइएको जानकारी गराएका छन्।

गएको २४ घण्टामा भएको परीक्षण नतिजाले पनि एन्टिजेन परीक्षण पिसिआरभन्दा कम विश्वसनीय रहेको प्रष्ट पार्छ। गएको २४ घण्टामा ४ हजार एक सय जनाको पिसिआर परीक्षण गर्दा २९८ जनामा संक्रमण पुष्टि भएको छ।

जुन ७.२ प्रतिशत पोजेटिभ संख्या हो। तर एक हजार ४० जनाको एन्टिजेन परीक्षण गर्दा जम्मा ४१ जनामा संक्रमण पुष्टि भएको छ। जुन ३.९४ प्रतिशत पोजेटिभ संख्या हो। अर्थात पिसिआर परीक्षणले देखाउने पोजेटिभ नतिजा भन्दा एन्टिजेन परीक्षणबाट देखिने पोजेटिभ संख्या झण्डै आधा कम छ।

यसले गर्दा पनि विज्ञहरूले पिसिआर परीक्षणलाई नै जोड दिनुपर्ने राय व्यक्त गरेका हुन्। संक्रामक रोग विशेषज्ञ डाक्टर अनुप सुवेदी पिसिआर परीक्षण पहिलेभन्दा सस्तो र परीक्षण क्षमता पनि बढी भएकाले यसैलाई सरकारले जोड दिनुपर्ने बताउँछन्।

यसअघि सरकारले नै दैनिक २५ हजार जनाको पिसिआर परीक्षण गर्न सकिने बताउँदै आएको थियो। साथै परीक्षण शुल्क पनि एक हजार रुपैंयाँमा झारेको थियो। सुरुमा पिसिआर परीक्षण शुल्क ५ हजार ५ सय सम्म तोकिएको थियो।

अहिले देशभर सरकारी र निजी गरी ६० भन्दा बढी पिसिआर परीक्षण गर्ने प्रयोगशाला छन्। त्यसैले उपत्यका छिर्ने नाकादेखि भारतबाट नेपाल प्रवेश गर्ने मानिसलाई सहजै पिसिआर परीक्षण गर्न सकिन्छ।

सरकारले उक्त प्रयोगशालाहरूबाट परीक्षणकाे दर बढाउन सक्ने विज्ञहरूको तर्क छ। पछिल्लो समय भारतमा संक्रमण दर उच्च भएसँगै यसको असर नेपालमा पनि देखिँदै गएको छ। चैत लागेयता संक्रमण दर निरन्तर उकालो लागिरहेको छ।

स्वास्थ्य मन्त्रालयले नै नेपालमा पनि विस्तारै दोस्रो लहरको असर देखिरहेको बताएको छ। अर्को कुरा अहिले देखिरहेको दोस्रो लहर पहिलेको भन्दा थप घातक छ। किनभने अहिले जुन भेरियन्ट फैलिरहेको छ त्यो बेलायतमा देखिएको भेरियन्ट हो। जसलाई ‘यूके भेरियन्ट’ भनिएको छ।

यो भेरियन्ट पहिलेको भन्दा थप आक्रामक र सक्रिय रहेको विभिन्न अध्ययनहरूले देखाएको छ। यसले एकबाट अर्काे व्यक्तिमा सजिलै र छिटो संक्रमण सार्नसक्ने भनिएको छ। साथै बालबालिका र तन्नेरी उमेर समूहका मानिसहरूलाई समेत सहजै आक्रमण गर्नसक्ने भनिएको छ।

दोस्रो लहरको असर यसरी नै बढिरहे फेरि संक्रमण पहिलेकै अवस्थामा पुग्ने चिकित्सकहरूले आँकलन गरेका छन्। यसरी नै संक्रमण दर बढे फेरि अस्पतालमा बेड र आइसियू अभाव हुनसक्छ। त्यसका लागि सरकार र जनस्तर दुबै पक्षबाट आवश्यक तयारी र नियम अवलम्बन हुनुपर्ने विज्ञहरूको सुझाव छ।

तर सरकारले भने दोस्रो लहर फैलिरहेका बेला त्यसको रोकथामको लागि कुनै ठोस कदम अघि सारेको छैन। अहिले उपत्यका प्रवेश गर्ने व्यक्तिहरूमध्ये लक्षण देखिनेहरूको एन्टिजेन परीक्षण गर्नेबाहेक अन्य कुनै काम हुन सकेको छैन।

विज्ञहरूले परीक्षणसँगै कन्ट्याक्ट ट्रेसिङ र क्वारेन्टिनको कार्यलाई पनि अघि बढाउनुपर्ने बताइरहँदा त्यसमा कुनै काम हुन सकेको छैन। यसरी समयमा पूर्व तयारी र रोकथामको कदम नचाल्ने हो भने फेरि लकडाउनको स्थितिमा पुग्नुपर्ने विज्ञहरूले चेतावानी दिएका छन्।

Check Also

युनाइटेडविरुद्ध सलाहले एकै सिजनमा गरे ५ गोल

 लिभरपुलका मोहमद सलाहले प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेड विरुद्ध दुई गोल गर्दै नयाँ कीर्तिमान बनाएका छन् ...

Comments are closed.