ताजा समाचार
Home / Headline / बैंकले कसरी गर्छन होमलोन स्वीकृत ? यी हुन् तपाइले जान्नैपर्ने प्रकृया र चरणहरु

बैंकले कसरी गर्छन होमलोन स्वीकृत ? यी हुन् तपाइले जान्नैपर्ने प्रकृया र चरणहरु

के तपाईं बैंकबाट ऋण लिएर घरजग्गा खरिद गर्ने सोँचमा हनुहुन्छ ? यदि हुनुन्छ भने तपाईं बैंकमा ऋण लिन जानुअघि कर्जा लिने आधारभूत प्रकृयाहरुबारे जानकार हुनु आवश्यक हुन्छ । आधारभूत प्रकृयाबारे जानकारी भएमा बैंकमा ऋण लिन जाँदा सजिलो हुन्छ ।

हामी तपाईंहरुलाई बैंकबाट घरकर्जा लिने आवश्यक आधारभूत प्रकृयाबारे जानकारी गराउन खोजिरहेका छौं ।

१) पूर्वतयारी

घरजग्गा किन्नुअघि पूर्वतयारी आवश्यक छ । सबैभन्दा पहिला आफ्नो आवश्यकता पहिचान गर्नु पर्‍यो । जग्गा किन्ने कि घर ? वा, घर बनाउने हो कि । कुन ठाउँमा किन्ने ? कति मूल्यको किन्न सक्छु ?  ‘म सँग यति रकम छ, अपुग यति रकम बैंकबाट निकाल्छु’ भनेर मोटामोटी हिसाव पहिल्यै गर्नुपर्छ । ऋण निकाल्न धितो चाहिन्छ, के राख्ने ? बैंकपिच्छे फरक फरक ब्याजदर हुन्छ, कुन बैंकको ब्याजक कम छ भनेर पहिल्यै विश्लेषण गर्न सकिन्छ । आफुलाई आवश्यक ऋण र बैंक पहिचान गरेपछि मात्र ऋणका लागि आवेदन दिन जानुपर्छ ।

२) आवेदन

बैंकको आ–आफ्नो स्टान्डर्ड फर्म्याइट हुन्छ । त्यसमा आफ्नो डिटेल भर्नुपर्छ । आवेदन फर्ममा केवाइसीको डिटेल, आम्दानी डेक्लेरेसन, पोपर्टी डिक्लेरेसन, कति ऋण चाहिएको हो, कुन शिर्षकमा चाहिएको हो, सबै विवरणहरु खुलाउन पर्छ । साथै, व्यक्तिगत कागजात, आम्दानीको कागज, पोपर्टीको कागज लगायत पनि आवेदन फर्मसँगै पेश गर्नुपर्छ ।

३) भेरिफिकेसन 

तपाईंले आवेदन बुझाइसकेपछि बैंकले ऋणको प्रकृया सुरु गर्छ । पहिला बैंकले तपाईं कालोसूचिमा पर्नुभएको छ कि छैन भनेर कर्जा सूचना केन्द्रमा बुझ्छ । त्यसपछि धितो मुल्यांकन गरेर भ्यालुएसन रिपोर्ट निकाल्छन् । बैंकले साइट पनि भिजिट गर्छन् । अनि तपाइँको बिजनेश भेरिफिकेसन र इन्कम भेरिफिकेसनको काम हुन्छ । यो चरणमा सम्पूर्ण भेरिफिकेसनको कामहरु हुन्छन् ।

४) इनिसेसन अफ अप्रुभल प्रोसेस

भेरिफिकेसन र भेलिडेसन रिपोर्ट आइसकेपछि ऋणको प्रकृयामा जान मिल्ने देखिएको खण्डमा बैंकले ग्राहको क्रेडिट अप्रोचल लेख्न सुरु गर्छ । त्यो बैंकको इन्टरनल डकुमेन्ट हुन्छ । पहिला इन्टरनल अप्रुभल डकुमेन्ट त बनाउन पर्‍यो ।

क्रेडिट एप्रेचलमा ग्राहकको ब्याकग्राउन्ड, ग्राहकले के चाहेको हो, ऋणको प्रपोज के हो, ग्राहकको फेमिली ब्याकग्राउन्ड, बिजनेश वा जागिरको डिटेल, आम्दानी, कर, ग्यारेन्टर को हो, पोपर्टी डिटेल्स लगायत उल्लेख गरिन्छ ।

यो व्यक्तिलाई ऋण दिँदा यो यो जोखिम छ, यो यो रिस्कलाई यसरी व्यवस्थापन गरिनेछ, यो आम्दानीले यसरी ईएमआई भुक्तानी हुँदै जान्छ भन्ने कुरा लेखिएको हुन्छ । ग्राहकको मोटामोटी खाका नै तयार पारिन्छ । यो ग्राहकलाई ऋण दिने कि नदिने निर्णय गर्नका लागि बनाइएको इन्टरनल दस्ताबेज हो । यो दस्तावेजमा सम्पूर्ण कागजपत्र एट्याच गरिएको हुन्छ ।

५) अप्रुभल चेन रिभ्यू (अप्रुभल)

अब तपाइँको क्रेडिट एप्रेचल र एट्याच डकुमेन्टहरु बैंकले विभिन्न तहमा चेक गर्छ । ऋण अधिकृतले तयार पारेको क्रेडिट एप्रेचल बैंकको प्रबन्धकले हेर्छन । र, आफ्नो राय समेट्छन् । त्यो डकुमेन्ट क्रेडिट अफिसरकोमा पुग्छ । त्यसपछि बिजनेश हेडकोमा पुग्छ । चेन रिभ्यू हुँदै अख्तियारी प्राप्त क्रेडिट अप्रुभलकोमा फाइल पुगेपछि ऋण स्वीकृत हुन्छ । चेक गर्ने क्रममा सबैको कमेन्ट र सुझाव समेटिन्छन् । सिष्टममा गइसकेको फाइल विभिन्न पदमा रहेका बैंकका ८/१० जनाले हेर्छन ।

६) डकुमेन्टेसन

ऋण स्वीकृत भएपछि बैंकले तपाइँलाई फोन गर्छ– ‘तपाईंको ऋण स्वीकृत भइसकेको छ, ग्यारेन्टर लिएर बैंकमा आउनुहोस् ।’ बैंकले तपाइलाई अफर लेटर दिन्छ । तपाइँले राम्रोसँग पढेर बैंकका शर्तहरु चित्त बुझेको खण्डमा हस्ताक्षर र औंठाछाप लगाउन पर्छ । बैंकले ऋणको सुरक्षणका लागि विभिन्न कागजपत्रमा हस्ताक्षर र औंठाछाप लगाउन भन्छन् । बैंकले आवश्यक कागजात प्रमाणित गरेर डकुमेन्टेसन गर्छन् ।

७) मोर्गेज (धितो बन्धक) 

अफर लेटरमा साइन गरेपछि बल्ल बैंकले ऋणको प्रकृया अगाडि बढाउँछन् । तपाइँको जग्गाको धितो मुल्यांकन भइसकेको हुन्छ । अब तपाइँले मालपोत कार्यालयमा गएर बैंकको नाममा धितो बन्धक राख्नुपर्ने हुन्छ । त्यहाँ पनि हस्ताक्षर र औंठा छाप लगाउन पर्छ । मालपोतमा धितो बन्धक राख्दा तपाइँले मालपोतको नियमानुसार तोकिएको दस्तुर बुझाउन पर्छ । त्यहाँबाट बैंकले धितो बन्धक राखेको कागज, ओरिजिनल लालपुर्जा लगायतका कागजपत्र आफ्नो कस्टडीमा ल्याउँछ ।

८) रिभ्यू/भेरिफिकेसन

फेरी पनि बैंकले तपाइँका सम्पूर्ण कागजपत्र रिभ्यू गर्छन ।  कित्तकाट मिलेको छ कि छैन, अरु कुराहरु मिलेका छन कि छैनन्, बैंकको नियमअनुसार कागजपत्र तयार भएकी भएनन भनेर भेरिफिकेसन गर्ने काम हुन्छ । डकुमेन्ट चरण चरणमा भेरिफिकेसन गर्छन् ।

९) लोन डिर्स्बमेन्ट

सबै प्रकृया पुरा भएपछि तपाइँलाई बैंकले ऋण दिन्छ । अहिले नगदमा कारोबार गर्न पाइँदैन । कि त तपाइँले चेक लैजानु पर्ने हुन्छ कि बैंकबाटै रकम ट्रान्सफर गर्नुपर्ने हुन्छ । घर बनाउने सवालमा एकैपटक सबै ऋण रकम बैंकले उपलब्ध गराउँदैनन् । विभिन्न चरणमा फिल्ड भिजिट गरेर प्रगती विवरणको आधारमा बढीमा ५ किस्तामा ऋण दिन्छन् ।

१०) ईएमआई

अब तपाइँले ऋण पाउनुभयो । अर्को महिनाको १० तारिखदेखि तपाइँले बैंकको साँवा र ब्याजसहितको ईएमआई (मासिक किस्ता) तिर्न सुरु हुन्छ । यदि तपाइँ घर बनाउँदै हुनुहुन्छ भने बैंकले ग्रेस पिरियड दिन सक्छन् । अर्थात् १ वर्षसम्म तपाईंले बैंकको ब्याजमात्र तिरे पुग्छ, त्यसपछिमात्र साँवा र ब्याजको किस्ता सुरु हुन्छ । घर बनाउँदा ऋणीलाई अतिरिक्त भार पर्ने भएकोले बैंकले यस्तो सुविधा दिएका हुन् । ग्रेस पिरियड बैंकको आन्तरिक नीति अनुसार फरक फरक हुन सक्छ । source :Nepalhomes

Check Also

युनाइटेडविरुद्ध सलाहले एकै सिजनमा गरे ५ गोल

 लिभरपुलका मोहमद सलाहले प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेड विरुद्ध दुई गोल गर्दै नयाँ कीर्तिमान बनाएका छन् ...

Comments are closed.