ताजा समाचार
Home / विचार / घरमा कलर लगाउने कि वालपेपर ? यस्ता छन् फाइदा र बेफाइदा

घरमा कलर लगाउने कि वालपेपर ? यस्ता छन् फाइदा र बेफाइदा

आफ्नो घरलाई सुन्दर देखाउन आकर्षक रंगरोगन गर्नुपर्छ । तपाईंले छनौट गर्ने रंगले पनि घरको सुन्दरता निर्धारण गर्छ । पछिल्लो समय घरका भित्ताहरु रंगाउन रंगको विकल्प बनेको छ वालपेपर । तपाईंले आफ्नो घर सजाउन रंग वा वालपेपवर छनौट गर्न सक्नुहुन्छ ।

घरमा सबैभन्दा बढी खाली ठाउँ भनेकै घरको भित्ता हो । तपाईंले उत्कृष्ट रंग वा विभिन्न डिजाइनका वालपेपर टाँसेर घरको भित्तालाई आकर्षक तरिकाले सजाउन सक्नुहुन्छ ।

पछिल्लो समय वालपेपरको प्रयोग पनि बढ्दै गइरहेको छ । खासगरी होटल, रेष्टुरेन्ट, क्लब, अफिस लगायतमा वालपेपरको प्रयोग बढ्दो छ । घर रंगाउन वालपेपर प्रयोग गर्ने कि रंग ? तपाईंलाई सही निर्णय लिन त्यति सजिलो छैन, किनभने हामीले बर्षौंदेखि रंग प्रयोग गर्दै आइरहेका छौं ।

यदि तपाईंलाई आफ्नो घरको भित्ता सजाउनको लागि रंग वा वालपेपर कुन उपयुक्त भन्ने कुरामा दुविधा छ भने तपाईंका लागि सहि निर्णय लिन हामी मद्दत गर्छौ ।

रंग र वालपेपर दुबैमा गुण र अवगुण छन् । अब हामी तपाईंले विचार गर्नुपर्ने सबैभन्दा सामान्य कारकहरु बारे छलफल गर्छौ जसले गर्दा तपाईंलाई छनौट प्रक्रियामा सहज हुनेछ ।

वालपेपर वा रंगको छनौटमा निर्णय गर्नुपूर्व विचार गर्नुपर्ने धेरै कारकहरु छन् जसमध्ये केहि सामान्य कारक तत्वहरु यसप्रकार छन् ।

१) रंग र वालपेपर लगाउने प्रक्रिया

तपाईंको घरको भित्तामा रंग वा वालपेपर जे प्रयोग गरेपनि दुबै कामका लागि व्यवसायिक र दक्ष कामदार खटाउनुपर्ने हुन्छ ।

वालपेपर : सामान्यतया मानिसहरु घरको भित्तामा वालपेपर लगाउन किन व्यवसायिक र दक्ष व्यक्तिको सहायता लिन्छन, त्यसको पछाडि कारण छ । यदि वालपेपर टाँस्ने ज्ञान छैन भने यो काम एकदम अप्ठ्यारो र भद्दा हुन जान्छ । भित्तामा भएका स–साना छिद्रहरु वालपेपर द्वारा सजिलै ढाकिन्छन् तर ठूला भ्वाङ्गलाई वालपेपर टाँसेर छोप्न सकिदैन । त्यसलाई पहिले नै पुरेर सर्लक्क पार्नुपर्ने हुन्छ ।

पुरै कोठाको भित्ता सजाउनु पर्ने भएकाले वालपेपरको ढाँचा मिलाउदै जानुपर्छ र त्यसको पाना एकदम जतनका साथ जोगाएर समाउनुपर्छ । नमिलाई वालपेपर लगाउँदा चाँडै उप्किने र च्यातिने सम्भावना अधिक रहन्छ । च्यातिएको भागमा अर्को नयाँ पाना राखेर टाँस्नुपर्ने भएकोले तपाईको खर्च बढ्न जान्छ ।

रंग : रंग लगाउनु वालपेपर टाँस्नु भन्दा सहज काम हो । रंग लगाउनुअघि भित्तामा भएका छिद्रहरु भर्नुपर्ने हुन्छ अर्थात् प्लास्टर र पुटिङ लगाइसकेपछि मात्र रंग लगाइन्छ । वालपुटिङको प्रयोग गरेर सुकेपछि भित्तालाई चिल्लो र चम्किलो बनाउनका लागि खाक्सिले घोटेर धुलो झार्नुपर्छ । त्यसपछि एक चरण प्राइमर (प्राथमिक रंग) लगाउनुहोस् र त्यो सुकेपछि आफुले चाहेको रंग लगाउनुहोस् अनिमात्र राम्रोसँग रंगले काम गर्छ ।

रंग लगाउदै गर्दा गहिरो र कडा गन्ध आउने भएकोले कोठाको झ्यालढोका खुल्ला राख्नुपर्ने हुन्छ । पंखाको प्रयोगले पनि गन्धलाई कम गरी चाँडो सुकाउने प्रक्रियामा मद्दत पुर्याउन सकिन्छ । यस्तै, रंग लगाउदा अन्य सामान वा फर्निचरमा पर्ने भएकाले ठूलो प्लास्टिक वा पुरानो तन्नाले छोप्दा राम्रो हुन्छ ।

२) सुक्न लाग्ने समय

पूर्णतया सुक्नका लागि वालपेपर र रंगलाई के कति समय लाग्ला त ?

वालपेपर : वालपेपर टाँस्नका लागि दक्षता र विशेषज्ञता आवश्यक पर्ने भएकाले यो टाँस्नको लागि पक्कै पनि समय लाग्छ । तर एकपटक टाँसिसकेपछि तपाईंले तुरुन्तै आफ्ना फर्निचरहरु मिलाएर राख्न सक्नुहुन्छ । वालपेपर टाँस्ने प्रक्रिया जान्यो भने एक दिनमै सजिलैसँग पुरै घरको भित्तामा वालपेपर टाँस्न सकिन्छ ।

रंग : भित्तालाई पूर्णतया अन्तिम स्वरुप दिनको लागि विभिन्न चरणमा प्राथमिक कलरदेखि आफुले छानेको कलर लगाउनुपर्ने भएकोले यसमा केहि दिन लाग्छ । प्रत्येक पटक रंग लगाएपछि सुक्नलाई समय लाग्ने र पूर्णरुपमा सुन्दर देखाउनको लागि धेरै चरणसम्म रंग लगाउनुपर्ने भएकोले निश्चय नै यसले धेरै समय लिन्छ ।

३) विविधता

रंग र वालपेपर दुबैका आ–आफ्ना विविधताहरु रहेका छन् ।

वालपेपर : वालपेपरका अनेकौ डिजाइनहरु हुन्छन् । आधुनिक छपाइ प्रविधिको विकासले हाम्रो कल्पनाशक्ति भन्दा धेरै उत्कृष्ट डिजाइनका वालपेपरहरु छापिएर आउन सक्छन् । आफ्नो बच्चाहरुको बेडरुमको लागि कार्टुनका चित्रहरु र बैठक कोठामा प्राकृतिक दृश्य झल्किने डिजाइनका वालपेपर राख्न सकिन्छ ।

रंग : वालपेपरको तुलनामा रंगको माध्यमले विविधता झल्किने डिजाइनमा सजाउन गाह्रो हुन्छ । भित्तामा रंगको साहराले डिजाइन गर्नु छ भने सुहाउदो रंगको छनौट गर्नु आवश्यक पर्छ । अहिले चलनमा रहेका टेक्सचर रंगको प्रयोगले आफुलाई मनपर्ने डिजाइन निकाल्न सकिन्छ । तर, यसका लागि दक्षता आवश्यक पर्ने हुनाले आफुले मनलाग्दी ढंगले गर्दा झन विरुप देखिने सम्भावना पनि रहन्छ ।

४) स्थिरता

तपाईले वालपेपर वा रंग के को प्रयोग गर्ने भन्ने बारे निर्णय लिनुअघि यी दुबै पक्षको टिकाउ र स्थिरताबारे थाहा पाउनु पर्छ ।

वालपेपर M राम्रोसँग नियमपूर्वक टाँसिएको वालपेपर कुनै मर्मत नगरिकन वा प्रतिस्थापन नगरिकन पनि १० देखि १५ वर्षसम्म टिक्ने गर्छ ।

रंग : रंग ३ देखि ५ वर्ष भित्रमा फिक्का भएर जाने र खुइलिने गर्छ । यसपश्चात पुनः रंग लगाउनुपर्ने हुन्छ ।

५) मर्मत

केही वर्षपश्चात वालपेपर वा रंग दुबैको मर्मतका आवश्यकता र तरिका बारे विचार गर्नाले पनि छनौटमा मद्दत पुग्छ ।

वालपेपर ः वालपेपरलाई सधै नयाँ र आकर्षक देखाउनका लागि भिजेको कपडाले पुछ्न सकिन्छ । यसरी पुछ्ने क्रममा वालपेपरको केही खण्ड च्यातिएमा सम्पूर्ण भाग हटाइ त्यसको बदलामा नयाँ वालपेपर टाँस्नुपर्ने हुन्छ ।

रंग ः रंग पनि समयसँगै चर्किने र उप्किने हुन्छ । तर त्यसलाई समाधान गर्न ठूलो मेहेनत लाग्दैन । सोहि किसिमको रंगको प्रयोग गरि तुरुन्तै त्यसलाई पूर्णता दिन सकिन्छ ।

६) सुरक्षा

घरको भित्तामा रंग वा वालपेपर जे प्रयोग गरेपनि पहिलो प्राथमिकता भनेको आफु र आफ्नो परिवारको सदस्यको स्वास्थ्य सुरक्षामा ख्याल राख्नु हो ।

वालपेपर : वालपेपरको सन्दर्भमा स्वास्थ्यसँग सम्बन्धित खतरा भनेको एउटै मात्र रहन्छ । भित्तामा वालपेपर टाँस्ने क्रममा धेरै गमहरुको र अन्य उपकरणको प्रयोग हुने भएकोले स–साना केटाकेटीलाई त्यसको खतरा रहन्छ । वालपेपर टाँस्ने क्रममा साना बच्चाहरुलाई कोठा भन्दा बाहिर राख्नुपर्छ । एकपटक वालपेपर टाँसिसकेपछि यसको कुनै पनि खतरा रहदैन ।

रंग : रंगमा हानिकारक रासायनिक पदार्थ र सिसाको कणहरु हुने भएकोले रंग लगाएर नसुक्दासम्म यसको कडा गन्धले स्वास्थ्यमा प्रतिकुल असर पार्न सक्छ । त्यसैले रंग लगाउने क्रममा र नसुकेसम्म घरको झ्याल ढोका खुल्ला राखि हावालाई संचालित हुन दिनुपर्छ । पंखाको प्रयोग गरेर पनि अझ छिटो सुकाउन र गन्धलाई गुम्सिन बाट जोगाउन सकिन्छ । एकपटक सुकिसकेपछि यसको कुनै खतरा वा स्वास्थ्यमा नकारात्मक असरको जोखिम त्यति रहदैन ।

७) जीवनशैली

घरको सजावटले तपाईको व्यक्तित्व र जीवनशैलीको प्रतिनिधित्व गर्छ । घरमा आएका पाहुनाले तपाईंको भित्ताको सजावटका आधारमा तपाईंको व्यक्तित्वको प्रतिविम्वको आभास गर्न सक्छन् ।

वालपेपर : यदि तपाई आफ्नो घरलाई परिष्कृत गर्न चाहनुहुन्छ वा आफ्नो बैठक कोठालाई बस्न वा भेला हुनका लागि आरामदायी बनाउन चाहनुहुन्छ भने वालपेपर पक्कै पनि तपाईको छनौटमा पर्छ ।

रंग : त्यस्तै तपाई आफ्नो घरलाई उज्यालो र शीतल बनाउन र परिवारमैत्री राख्न चाहनुहुन्छ भने रंगले धेरै ठूलो भूमिका निर्वाह गर्छ ।

८) लागत

घरको भित्तामा रंग वा वालपेपर लगाउने भन्ने कुराको निर्णय गर्दा यी दुई बिचको लागत र खर्चको तुलना गर्नु एकदम जरुरी रहन्छ ।

वालपेपर : सामान्यतया भित्तामा वालपेपर लगाउँदा पर्ने लागत रंगको भन्दा केहि बढी नै पर्न आउँछ । तर, लागत बढी लाग्ने भएपनि लामो समयसम्मको स्थायित्वको आधारमा यो त्यति महँगो पनि होइन । केहि वर्षमै घरको सजावटमा परिवर्तन गरि नयाँ डिजाइनले भित्ता सजाउने योजनामा हुनुहुन्छ भने वालपेपर धेरै हदसम्म महँगो साबित हुनेछ ।

रंग : वालपेपरको दाजोमा रंग सस्तो पर्न आउँछ र बिग्रिएको ठाउँमा पुनः फिनिसिङ गर्न पनि सहज हुने भएकोले यसको लागत कम हुन्छ । अन्यथा, भित्ता पुरै अर्को रंगले सजाउन परेमा यसले पनि खर्च बढाउँछ ।

९) घरभित्रको स्थान

भित्ताको सजावटमा रंग र वालपेपर दुबैको महत्वपूर्ण भूमिका रहन्छ । यद्यपी कोठाको आकार, स्थिति वा क्षेत्रफलको आधारमा वालपेपर वा रंग कुन उचित भनेर निर्धारण गर्न सकिन्छ । घरको प्रत्येक कोठाको लागि कुन उपयुक्त भनेर यसरी छुट्याउन सकिन्छ ।

वालपेपर : डाइनिङ कोठा र बैठक कोठाको भित्ता सजावटमा वालपेपरको प्रयोग गरि थप आकर्षक देखाउन सकिन्छ । यसले घरको अधिक प्रयोग हुने र पाहुनाको आँखा पुग्ने ठाँउमा सौन्दर्य बढाउनुको साथै सजावटको आयु लम्ब्याउने काम गर्छ ।

रंग : वालपेपरमा धेरै विकल्प र लामो स्थायित्व रहने भएपनि बढी ओस आउने र आद्र्रता स्तर बढि रहने कोठाको लागि उपयुक्त रहदैन । जस्तो कि भान्सामा वा बाथरुममा वालपेपर राख्नु उचित हुदैन । गर्मी र पानीले भिज्ने भएकोले वालपेपर उप्किने र च्यातिने डर रहन्छ । त्यस्तै आफु सुत्ने कोठा जसको भित्ताको सजावटमा तपाई निकट भविष्यमा परिवर्तन चाहनुहुन्छ भने वालपेपरको प्रयोग बढि खर्चालु हुन्छ । त्यस्तो

स्थानमा रंगकै प्रयोग लाभदायक रहन्छ ।

१०) परिवर्तनका लागि तयारीको निम्ति समय

भित्ताको सजावटमा परिवर्तन गर्नका लागि भित्तालाई फेरी खाली राख्न आवश्यक पर्छ । यदि तपाई आफ्नो भित्ताको पुनः निर्माण अथवा सजावटमा फेरबदल गर्न चाहनुहुन्छ भने यी कुराहरुमा ध्यान दिन जरुरी छ ।

वालपेपर : वालपेपरले सजिएको भित्ताको सजावटमा फेरबदल गर्नु सजिलो काम होइन । टाँसिएको वालपेपर निकाल्नु कष्टकर र थकान दिलाउने काम हो । यसलाई निकाल्नको लागि विभिन्न उपकरणको आवश्यकता पर्छ । साथै नजानिकन निकाल्न खोज्दा वालपेपर उप्काउने क्रममा भित्तामा दखल परि भित्ता चर्किने प्लास्टर उप्किने जोखिम पनि त्यतिकै रहन्छ ।

रंग : रंग लगाइएको भित्तामा पनि भइरहेको रंग भन्दा फरक रंगले सजाउनु सजिलो काम होइन । यसमा पनि कतै भित्तामा छिद्र परेको वा चर्किएको भए त्यसको मर्मत गर्नुपर्छ । नयाँ रंगले प्रतिस्थापन गर्दा थप चरणहरुमा रंग लगाउने सुकाउने गर्नुपर्छ । देखे जस्तो रंगमा ब्रस चोपेर लगाएजस्तो सरल त पक्कै पनि होइन तर वालपेपरको तुलनामा चाहि यो छिटो र छरितो हुन्छ ।

घरको भित्ताको सजावटमा रंग वा वालपेपरको प्रयोग कुन उत्तम हुने भन्ने कुराको निक्र्यौल गर्न माथिका कारक तत्वहरु बाट पक्कै पनि तपाईलाई धेरै हदसम्म सघाउँ पु¥याँउछ । जहाँसम्म उत्तम विकल्प भनेको दुइवटै विधिको मिश्रण गरेर कोठाको क्षेत्र, आकार तथा उपयोगिता हेरेर त्यसको प्रयोग गर्न सकिन्छ । बैठक कोठा वा प्यासेजहरुमा उत्कृष्ट डिजाइनका नमुना वालपेपरको प्रयोग गरि सजाउन सकिन्छ । त्यस्तै भान्सा, बाथरुम र आफु सुत्ने कोठामा सुहाउदो रंगको प्रयोग गर्न सकिन्छ ।

Check Also

काठमाडौं उपत्यकासहित देशभर खुले सुपथमूल्य पसल, कुन वस्तुमा कति छुट ?

सरकारले देशभर दशैं तिहार र छठ पर्वलाई लक्षित गरी सुपथमूल्य पसल सञ्चालनमा ल्याएको छ । ...

Comments are closed.