ताजा समाचार
Home / Headline / नेपाल-भारत उडानमा दुईपटक पीसीआर

नेपाल-भारत उडानमा दुईपटक पीसीआर

सर्तसहित पुसदेखि खुला गरिएको नेपाल–भारत उडानमा एकै दिनमा फर्किने यात्रुले डिपार्चर प्वाइन्ट (अर्कोतर्फको फर्किने बिन्दु) बाट पनि पीसीआर जाँच गरेको रिपोर्ट अनिवार्य पेस गर्नुपर्ने भएको छ । नेपालबाट ७२ घण्टाको पीसीआर रिपोर्ट बोकेर गएका यात्रुले फर्किंदा भारतबाट पीसीआर गर्नुपर्ने भएको छ ।

नेपाल वायुसेवा निगमले एकै दिनमा फर्किने यात्रुलाई नेपालकै पीसीआरबाट छाड्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्राचार गरेको थियो । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्व स्वास्थ्य संगठनले नै यो विषयमा दुवैतर्फको पीसीआर आवश्यक पर्ने प्रोटोकल बनाएकाले त्यसैअनुसार एकै दिनमा फर्किने यात्रुलाई विमानस्थलबाट छाड्न नसकिने जनाएको छ ।यस विषयमा सीसीएमसीमा पनि छलफल भएको थियो । तर एउटै पीसीआरका आधारमा छाड्न नसकिने स्वास्थ्य मन्त्रालयले जनाएको पर्यटन मन्त्रालयका एक सहसचिवले बताए ।

पछिल्लोपटक नेपालबाट भारत पुगेर फर्किएका नेपाली यात्रुलाई होटल क्वारेन्टाइनमा अनिवार्य बसाइएपछि निगमले यस विषयमा चासो राखेर मन्त्रालयलाई पत्र पठाएको थियो । तर मन्त्रालयले यो नेपाल र भारतबीच एयर बबल अवधारणामा सुरु भएको उडान भएकाले सीसीएमसीमा पठाएको थियो ।

त्यहाँ स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले नेपालबाट पीसीआर नेगेटिभ भएर गएकाहरू पुनः संक्रमित भएर आउन सक्ने भएकाले त्यहाँबाट पनि ७२ घण्टासम्मको पीसीआर रिपोर्ट अनिवार्य चाहिने बताएका थिए । हाल नेपाल र भारतका लागि दैनिक दुवै देशका वायुसेवाले दैनिक दुइटा उडान गर्दै आएका छन् । यी उडानमा दुवै देशका नागरिकबाहेक तेस्रो मुलुकका यात्रुलाई रोक लगाइएको छ ।

Check Also

इष्टर्न हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम मौका 

इष्टर्न हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले पहिलो चरणमा ...

83 responses to “नेपाल-भारत उडानमा दुईपटक पीसीआर”