ताजा समाचार
Home / Headline / नबिल बैंकले ‘पार्टनर’ खोज्दा सेयर बजारमा चलखेल

नबिल बैंकले ‘पार्टनर’ खोज्दा सेयर बजारमा चलखेल

सामाजिक सञ्जाल र केही अनलाइन समाचार माध्यममा बुधबार साँझ नबिल र सिद्धार्थ बैंक मर्ज हुने हल्ला चल्यो। यो हल्लासँगै बिहीबार सेयर बजारमा सिद्धार्थको मूल्य केही बेर उचालियो। प्रतिकित्ता ३७२ रूपैयाँको मूल्य केही मिनेटमै ४०८ रूपैयाँसम्म पुग्यो।

उता यो मर्जबारे यति चर्चा भयो, सिद्धार्थले सूचना नै सार्वजनिक गरेर नबिलसँग मर्ज हुने खबरमा कुनै सत्यता नरहेको स्पष्ट पार्‍यो।

यसअघि पनि नबिलको मर्ज एनसिसी बैंकसँग हुने हल्ला चलेको थियो। यसले गर्दा सोमबार ३१९ रूपैयाँ रहेको एनसिसीको मूल्य दुई दिनमै, बुधबार ३६४ रूपैयाँ पुग्यो।

मर्ज वा एक्वीजिसनका लागि उपयुक्त पार्टनर भेटेमा त्यसका लागि प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेगरी बैंकले साधारणसभामा प्रस्ताव लैजाँदैछ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह भन्छन्, ‘अहिले यो प्रस्ताव पास गरेनौं भने र राम्रो पार्टनर हामीले ठान्यौं भने, फेरि विशेष साधारणसभा गराउनुपर्छ। त्यसकारण अहिले बाटो खुला राखेको हो।’

प्रस्ताव राख्दैमा वा कुरा गर्दैमा कसैले मर्ज नै हुन लाग्यो भनेर बुझ्नु वा समाचार बनाउनु भ्रम फैलाउनु मात्रै रहेको उनले स्पष्ट पारे।

मर्जलाई उनले विवाहसँग तुलना गर्दै भने, ‘उमेर पुगेको छ, केटा वा केटी तयार छ भन्दैमा एकअर्काे पार्टनर नभेटेसम्म वा सहमति नभएसम्म त हुँदैन नि।’

हुन त मर्जको ठोस निर्णय सञ्चालक समितिले नै गर्ने हो। तर सञ्चालक समितिलाई निर्णय गर्न बैंकका दक्ष जनशक्तिले नै आधारहरू प्रस्तुत गर्ने हो।

‘हाम्रो व्यवस्थापन टिमले विभिन्न बैंकका ब्यालेन्स सिट हेर्ने, तुलना गर्ने र मर्ज गर्दा नबिललाई हुने दीर्घकालीन फाइदा/बेफाइदा विश्लेषण गर्ने काम त भइ नै रहेको छ,’ शाहले भने।

विभिन्न बैंकसँग नाम जोडेको हल्ला आफूले पनि सुनेको बताउँदै उनले कसैलाई पनि हल्लाका पछि नलाग्न सुझाव दिए।

साधारणसभाबाट मर्जका लागि अख्तियारी हस्तान्तरण प्रस्ताव पारित भए पनि नबिललाई मर्जका लागि बाध्यता छैन।

नेपाल राष्ट्र बैंकले क्रस होल्डिङ भएकालाई मर्जका लागि दवाव दिएको छ। अर्थात् एकाघर परिवार वा संस्थाको निश्चित लगानी भएका बैंक तथा वित्तीय संस्थालाई मर्ज वा एक्वीजिसनका लागि बाध्य पारिने व्यवस्था मौद्रिक नीतिमा छ। यो व्यवस्थाअनुरुप नबिलले कुनै वाणिज्य बैंकलाई मर्ज गर्नैपर्ने बाध्यता छैन।

अर्कोतर्फ बैंकहरूको मर्ज सहमति भइसकेपछि सो सूचना बाहिर चुहावट गर्न पाइँदैन। पहिलो सूचना नै राष्ट्र बैंक र नेप्सेलाई जानकारी गराउनुपर्छ। सो सूचना नेप्सेले पाउनेबित्तिकै दुवै कम्पनीको सेयर कारोबार रोकिन्छ।

मर्जको सहमतिपश्चात सूचना चुहाउनु र बजार प्रभावित पार्ने काम अपराध मानिन्छ। त्यस्तै एक्वीजिसनको हकमा भने एक्वीजिसन गर्ने मुख्य कम्पनीको कारोबार रोकिँदैन, विलय हुने कम्पनीको रोकिन्छ।

अहिले केही बैंकले मर्जका लागि तयारी गरिरहँदा अनावश्यक हल्ला बढ्नुले नयाँ सेयर लगानीकर्ता भने फस्ने गरेका छन्।

यसलाई उदाहरणकै रुपमा हेरौं, हिजो बुधबार एनसिसी बैंकको मूल्य प्रतिकित्ता ३६४ रुपैयाँसम्म बजारमा किनबेच भएकामा आज बिहीबार ३३९ रुपैयाँसम्म कारोबार भयो। बैंकको मूल्य अझै घट्ने क्रममा देखिएको छ।

सेयर बजारका जानकार दिलिप मुनंकर्मी हल्लाका भरमा नभई कम्पनीको वित्तीय स्थिति राम्ररी केलाएर मात्रै लगानी गर्न सुझाउँछन्।

मुनंकर्मी भन्छन्, ‘हल्लाका भरमा होइन। लगानी गर्दा जुनसुकै कम्पनीको व्यवसायिक अवस्था, मुनाफा, लाभांस क्षमता र प्रतिफल हेर्नैपर्छ।’

बीचमा सिद्धार्थ बैंकको नाम चर्चामा आएपछि एनसिसीको मूल्य लगातार घटिरहेको छ। यता सिद्धार्थको अझै बढेको छ। बिहीबार समग्र बजार घट्दा सिद्धार्थको मूल्य बढ्यो।

Check Also

युनाइटेडविरुद्ध सलाहले एकै सिजनमा गरे ५ गोल

 लिभरपुलका मोहमद सलाहले प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेड विरुद्ध दुई गोल गर्दै नयाँ कीर्तिमान बनाएका छन् ...

Comments are closed.