ताजा समाचार
Home / Headline / अब एनसेलले नै रोजगारी खोज्ने र दिनेलाई आपसमा भेटाइदिने

अब एनसेलले नै रोजगारी खोज्ने र दिनेलाई आपसमा भेटाइदिने

एनसेलका ग्राहकले अब आन्तरिक श्रम बजारमा उपलब्ध रोजगारीका अवसर तथा आफूलाई आवश्यक जनशक्ति सजिलै खोज्न सक्ने भएका छन् । एनसेल आजियाटा लिमिटेडले नयाँ सेवा ‘एनसेल जबशप’ शुरु गरेको हो ।

यो सेवाले रोजगारी खोज्ने र प्रदान गर्ने दुवै पक्षलाई अनलाइन मार्फत आपसमा जोड्नेछ । एनसेलले आफ्नो हाल संचालनमा रहेको अभियान ‘अनपज’ (#unpause) अन्तर्गत यो सेवा संचालनमा ल्याएको हो ।

हालको विषम् परिस्थितीमा भविष्यको पुर्नविचार गर्दैै अघि बढ्न अभिप्रेरित गर्ने उद्देश्यका साथ यो अभियान सुरु गरिएको कम्पनीले जनाएको छ । एनसेलका चिफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले कोभिड–१९ महामारीले गर्दा धेरैले रोजगारी गुमाएको उल्लेख गरे ।

‘भर्चुअल रुपमा सम्पर्कमा रहन सकिने विकासले गर्दा अहिलेको अवस्थामा अनलाइनमार्फत एक अर्कासँग सम्पर्क स्थापित गर्न सकिने भएको छ,’ उनले भने ।’

‘कार्यस्थलभन्दा टाढै बसेर पनि काम गर्ने र रोजगारीका अवसरहरु खोज्ने प्रवृत्ति बढिरहेको छ । यस्तो बेला कामको खोजिमा रहेका व्यक्तिलाई सिधै रोजगारदातासँग जोड्ने यो नवीन सेवा ल्याउन पाएकोमा हामी हर्षित छौं,’ उनले अगाडि भने ।

अर्थतन्त्रमा विस्तारै सुधार हुन थालेको बेलामा एनसेलको जबशपले विषम परिस्थितीमा काम गुमाएकालाई विभिन्न रोजगारीका अवसरसँग जोड्ने अवसर उपलब्ध गराउने श्रीवास्तवले बताए । उनले भने, ‘कामको खोजीमा रहेका र रोजगारदाता दुवै पक्षलाई एकै ठाउँमा भेट गराउने यो सेवाले ठूलो महत्व राख्ने विश्वास लिएका छौं ।’

महामारीको प्रभाव सबै क्षेत्रमा परेको छ र रोजगारीबाट धेरै मानिस बन्चित हुन पुगेका छन् । यस्तो बेलामा एनसेल जबसश रोजगारीको अवसरको खोजीमा रहेका र आफ्नो कामका लागि जनशक्ति खोजी गरिरहेकालाई एक उपयोगी माध्यम हुने आशा गरिएको छ ।

हालको शुरुवाती अवस्थामा शारीरिक रुपमा काम गर्ने श्रमिक तथा कामदार र यस्ता जनशक्ति चाहनेले यो सेवा आफ्नै मोबाइलबाट लिन सक्नेछन् । कामको खोजीमा रहेका व्यक्ति र काम दिने व्यक्तिको आवश्यकताबीच प्रत्येक पटक मेल खाएपछि दुवै पक्षले एसएमएस मार्फत सन्देश पाउन सक्छन् ।

एनसेलको सेवा प्रयोग गर्ने र कामको खोजीमा रहेका जो कोही श्रमिक वा कामदारले रोजगारी खोजीरहेको व्यक्तिका रुपमा यो सेवा सुचारु गर्न सक्ने कम्पनीले जनाएको छ । यसका लागि आफूले खोजीरहेको काम र आफ्नो दक्षता अनुसार प्रोफाइल बनाएर यो सेवा सुचारु गनुपर्ने हुन्छ ।

कामदार खोजीरहेका व्यक्तिले पनि आफ्नो आवश्यकता खुलाई प्रोफाइल बनाउनुपर्ने हुन्छ । जब काम खोज्ने र कामदार खोज्नेको आवश्यकता सम्बन्धी पोस्ट मेल खान्छ, तब एसएमएसमार्फत दैनिक रुपमा दुवै पक्षलाई यस सम्बन्धी जानकारी पठाइन्छ ।

यो सेवा लिन इच्छुक ग्राहकले *१७१३७# डायल गरेर अथवा एनसेलजबशप डट कम वेबसाइटमा गएर प्राप्त निर्देशन अनुसार यो सेवा सुचारु गर्न सक्नेछन् । काम दिने व्यक्ति वा रोजगारदाताको लागि एउटा आवश्यकता पोस्ट गर्न कर सहित ६.३८ रुपैयाँ शुल्क लाग्नेछ ।

एक पटक पोस्ट गरेको कामको विवरण एक हप्तासम्म रहने बताइएको छ । त्यसैगरी कामको खोजीमा रहेका ग्राहकले तीन दिन, सात दिन, एक महिना, छ महिना वा वार्षिक रुपमा गरी विभिन्न समयसीमा तय गरेर यो सेवा लिन सक्नेछन् ।

कामको खोजीमा रहेका व्यक्तिले कर सहित ३.८३ रुपैयाँमा तीन दिनको प्याक खरिद गर्न सक्नेछन् । त्यसै अनुसार प्याकको समयसीमाभित्र सम्बन्धित कामदारको प्रोफाइल सक्रिय रहनेछ ।

ग्राहकले कर सहित ८.९४ रुपैयाँमा सात दिनको र कर सहित ३८.३१ रुपैयाँमा ३० दिनको समयसीमा रहेको प्याक सुचारु गर्न सक्नेछन् । थप समयको लागि आफ्नो प्रोफाइल सक्रिय राख्न चाहने ग्राहकले ६ महिना र १२ महिना समयसीमा रहेको प्याक कर सहित क्रशमः १५३.२२ रुपैयाँ र २२९.८४ रुपैयाँमा सुचारु गर्न सक्नेछन् ।

यही अनपज अभियान अन्तर्गत एनसेलले यस अघि महिलाहरुलाई लक्षित गर्दै आकर्षक गो सिम योजना ल्याएको थियो । जसअन्तर्गत एनसेलले आगामी दिनमा समेत ग्राहकहरुका लागि विभिन्न सेवा सुविधा ल्याउने जनाएको छ ।

Check Also

युनाइटेडविरुद्ध सलाहले एकै सिजनमा गरे ५ गोल

 लिभरपुलका मोहमद सलाहले प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेड विरुद्ध दुई गोल गर्दै नयाँ कीर्तिमान बनाएका छन् ...

Comments are closed.