ताजा समाचार
Home / Headline / काठमाडौं महानगरपालिकाले भन्यो– बेरोजगारलाई रोजगारी दिइन्छ, वडा कार्यालयमा सम्पर्क गर्नू सूचना सहित

काठमाडौं महानगरपालिकाले भन्यो– बेरोजगारलाई रोजगारी दिइन्छ, वडा कार्यालयमा सम्पर्क गर्नू सूचना सहित

काठमाडौं महानगरपालिकाले कोभिड–१९ का कारण बेरोजगार भएकाहरुलाई रोजगारी दिइने भन्दै आफू बसोबास गरेको क्षेत्रको वडा कार्यालयमा सम्पर्क राख्न आग्रह गरेको छ ।

महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै रोजगारी गुमाएका श्रम गर्न सक्ने महानगरवासीलाई जीवन निर्वाहका लागि पारिश्रमिक कार्यविधि, २०७७ बमोजिम रोजगारी उपलब्ध गराइने जानकारी दिएको हो ।

असहाय, अशक्त तथा शारीरिक रुपमा काम गर्न नसक्नेहरुलाई भने खान, बस्न र स्वास्थ्य उपचारका लागि मानव सेवा आश्रममा व्यवस्था मिलाइएको महानगरपालिकाले जनाएको छ । त्यस्ता व्यक्तिहरुले नजिकका वडा कार्यालयमा वा सीधै मानव सेवा आश्रममा सम्पर्क गर्न सक्ने महानगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

यसअघि परोपकारी केही संस्थाहरुले काठमाडौंको खुलामञ्चमा बेरोजगार, असहाय र अशक्त व्यक्तिहरुका लागि खाना खुवाउने काम गर्दै आएका थिए । स्वास्थ्य जोखिम, संक्रमणको सम्भावना, सामाजिक प्रतिष्ठा तथा मानव अधिकारको संरक्षण गर्ने भन्दै महानगरपालिकाले आगामी मंसिर २ गतेदेखि सार्वजनिक स्थलमा खाना खुवाउने कार्यमा रोक लगाएको छ ।

अन्य बन्द संरचनाभित्र स्वास्थ्य मापदण्ड पालना गरी भोजन सेवा सन्चालन गर्न महानगरपालिकाले सबै सामाजिक संघ संस्थाहरुलाई अनुरोध गरेको छ । यस कार्यमा वडा कार्यालयबाट आवश्यक समन्वय तथा सहयोग हुने काठमाडौं महानगरपालिकाले  जनाएको छ ।

Check Also

क्यान्सर विजेताहरुको तेस्रो ‘र्‍याम्प वाक’ पोखरामा हुँदै

क्यान्सर विजेताहरुको तेस्रो र्‍याम्प वाक पोखरामा हुने भएको छ । नेपाल क्यान्सर सपोर्ट ग्रुप र ...

Comments are closed.