ताजा समाचार
Home / Headline / प्रधानमन्त्रीले १२ बजे बोलाए मन्त्रिपरिषद्को बैठक

प्रधानमन्त्रीले १२ बजे बोलाए मन्त्रिपरिषद्को बैठक

मध्याह्न १२ बजे मन्त्रिपरिषद्को बैठक बोलाइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाएको बालुवाटार स्रोतले जनाएको छ। आकस्मिक बैठकबाहेक मन्त्रिपरिषद्को नियमित बैठक सामान्यतया सोमबार र बिहीबार बस्ने गरेको छ।

यस अगाडि बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले एसिड आक्रमणका दोषीलाई कारबाही गर्न र पीडितको सम्पूर्ण उपचार, शिक्षा र जीविकाको प्रबन्ध गर्ने गरी  कानुनी व्यवस्था गर्न अध्यादेश ल्याउने निर्णय गरेको थियो। बैठकले सोसम्बन्धी मस्यौदालाई पारित गर्दै स्वीकृतिका लागि राष्ट्रपतिकहाँ पठाउने निर्णय गरेको हो। कानुन मन्त्रालयले सम्बन्धित सरोकारवालासँगको परामर्शका आधारमा कानुनको मस्यौदा तयार पारेर मन्त्रिपरिषद्को बैठकमा लगेको थियो। गत भदौ २५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले १५ दिनभित्र कानुनको मस्यौदा तयार पारी ल्याउन कानुन मन्त्रालयलाई निर्देशन दिएका थिए।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठनका विषयमा नीतिगत छलफल गरेसँगै आकस्मिक रुपमा बोलाइएको बैठकलाई चासोको रुपमा हेरिएको छ। तर नेताहरुबीच कसलाई राख्ने र कसलाई हटाउने भन्नेमा अझै सहमति जुटिसकेको छैन।

प्रधानमन्त्री ओलीले सचिवालय बैठकमा तीन विकल्प अगाडि सारेका थिए। पहिलो विकल्प अहिलेका सबै मन्त्रीलाई हटाएर नयाँ व्यक्ति लैजाने। दोस्रो, दुई वर्ष पूरा भएका मन्त्रीलाई बिदाइ गर्ने, नयाँ ल्याउने। तेस्रो अहिले रिक्त रहेका मन्त्रालयमा नयाँलाई लैजाने र केहीकेहीलाई अहिले रहेकालाई झिकेर नयाँ राखेर जाने।

पुष्पकमल दाहालले बैठकमा सबै मन्त्रीहरू हटाउन नहुने तर्क गरेका थिए। उनले भनेका थिए, ‘सबै मन्त्रीहरू हटाएर जाऔं त म भन्दिनँ। राम्रा काम गरिरहेकाहरू पनि हुनुहुन्छ। उहाँहरूका हकमा बोल्न पनि हुन्न। पहिलाका सिनियर राम्रा काम गरेकाहरूलाई राखेरै जानुपर्छ। बाहिर पनि वरिष्ठ नेताहरू हुनुहुन्छ। उहाँहरूलाई पनि जिम्मेवारी दिएर प्रभावकारी सरकार सञ्चालन गर्ने गरी जानु राम्रो हुन्छ। नयाँ राख्दा वरिष्ठ, योग्य, क्षमतावान्, समावेशी बनाएर राख्नुपर्छ।’

वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालले भने सरकारको सेट नै परिवर्तन गर्नुपर्ने बताएका थिए। प्रधानमन्त्रीबाहेक अन्य सबै मन्त्रीलाई अहिले राजीनामा दिएर फिर्ता बोलाउने, नयाँ र योग्यलाई अवसर दिनुपर्ने नेपालको भनाइ थियो।

Check Also

जाल्पा सामुदायिक लघुवित्तको ७३% बोनस सेयर घोषणा

जाल्पा सामुदायिक लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको शनिबार बसेको ...

Comments are closed.